जलश्रोत/उर्जा

विद्युत आयात सम्झौताबारे भ्रामक प्रचार गरियो: विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हिउँदे विद्युत् आपूर्ति सुनिश्चित गर्न भारतबाट १८० मेगावाट विद्युत् खरिद गर्ने सम्झौता गरेको छ । यो सम्झौताबारे केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएका समाचार भ्रामक र तोडमोड गरिएका रहेको प्राधिकरणले जनाएको छ ।

शुक्रवार जारी विज्ञप्तिमा प्राधिकरणले भनेको छ-नेपालको जलविद्युत नदी-प्रवाहमा आधारित भएकाले बर्खायाममा अतिरिक्त विद्युत् निर्यात र हिउँदमा सीमित आयात गर्नुपर्ने बाध्यता छ । गत आर्थिक वर्षमा नेपालले भारतलाई २ अर्ब ३८ करोड युनिट विद्युत् बेच्यो भने १ अर्ब ६८ करोड युनिट मात्र आयात गर्‍यो ।

प्राधिकरणले दुई भारतीय सरकारी कम्पनी पीटीसी इन्डिया र एनभीभीएनसँग दर प्रस्ताव मागेको थियो । पीटीसीको ६.९५ भारतीय रुपैयाँ प्रतियुनिट प्रस्ताव एनभीभीएनको ७.६७ भन्दा सस्तो परेकाले सोही कम्पनीसँग सम्झौता गरिएको हो ।

ढल्केबर-मुजफ्फरपुर र बिहार-नेपाल प्रसारण लाइनबाट २०२६ जनवरी-मे सम्म यो विद्युत् आयात हुनेछ । विद्युत् नियमन आयोगले स्वीकृति दिइसकेको र भारतीय पक्षको अन्तिम सहमति कुर्दैछ । ‘यो सम्झौता संस्था वा राष्ट्रको हितविपरीत छैन,’ प्राधिकरणले भनेको छ । मन्त्री कुलमान घिसिङ र कार्यकारी निर्देशक मनोज सिलवालको बदनाम गर्ने नियोजित प्रचारमा नपर्न प्राधिकरणले सबैमा आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *