काठमाडौँ। नेपाली कांग्रेसका नेताहरूले पार्टीको विधानअनुसार आगामी मङ्सिरभित्र नियमित महाधिवेशन सम्पन्न नभए केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यले सामूहिक रूपमा राजीनामा दिनुपर्ने माग गरेका छन्।
राजधानीमा आज केही जिल्ला सभापतिको पहलमा आयोजित ‘कांग्रेस १५औँ महाधिवेशन बृहत् दबाबमूलक भेला’मा नेताहरूले तोकिएको समयमा महाधिवेशन नगर्नु नेतृत्वको असफलता भएको भन्दै त्यसको जिम्मेवारी सिङ्गो केन्द्रीय समितिले लिनुपर्ने धारणा राखेका हुन्।
भक्तपुरका सभापति तथा पूर्वसांसद दुर्लभ थापाको सभापतित्वमा सम्पन्न भेलामा महोत्तरीका सभापति नागेन्द्र यादव, रौतहटका सभापति जितेन्द्र यादव, बागलुङका सभापति जीत शेरचन, कागेश्वरी मनोहराका नगरप्रमुख तथा पूर्वसभापति उपेन्द्र कार्की, वर्तमान क्षेत्रीय सभापति जयकृष्ण महर्जन लगायतले मङ्सिरभित्र नियमित महाधिवेशन सम्पन्न नभए केन्द्रीय समिति भङ्ग गरी तदर्थ समिति गठन गरेर महाधिवेशन गर्नुपर्ने माग गरेका छन्।
भेलामा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वमहामन्त्री दीपक भट्टराई, नेपाल तरुण दलका केन्द्रीय सदस्य देव लामा, नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य बद्री अर्याल र दीपक सोनी, कांग्रेस महाधिवेशन प्रतिनिधि गीता गुरुङ तथा पूर्वस्ववियु सभापति लाओसकुमार राईलगायतले पार्टीभित्र युवाको नाममा दशकौंदेखि सीमित व्यक्तिको मात्र प्रतिनिधित्व रहने प्रवृत्तिको अन्त्य गर्नुपर्ने माग पनि गरेका छन्।
नेताहरूले पार्टीको आन्तरिक लोकतन्त्र जोगाउन विधानअनुसारको समयमै महाधिवेशन गरिनु अपरिहार्य भएको र त्यसमा ढिलाइ भए कांग्रेसको विश्वसनीयता गम्भीर रूपमा कमजोर हुने चेतावनी दिएका छन्।



