काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एकीकृत समाजवादीका सुदन किराती र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालबीच राजनीतिक छलफल भएको छ ।
भट्टराईको नेतृत्वमा भएको सो छलफलमा जेनजी आन्दोलनपछिको पछिल्लो राजनीतिक परिदृश्य र मुलुकमा वैकल्पिक राजनीतिक शक्ति निर्माणका सम्भावनाबारे केन्द्रित कुराकानी भएको बताइएको छ ।
स्रोतका अनुसार, वर्तमान दलगत संरचना, युवा पुस्ताको असन्तुष्टि र मौजुदा शासनप्रति जनताको निराशालाई ध्यानमा राख्दै नयाँ राजनीतिक सहकार्यका सम्भावित दिशाबारे नेताहरुबीच विचारविमर्श भएको हो ।
हालै माओवादी केन्द्र, एकीकृत समाजवादी र भट्टराई नेतृत्वको समाजवादी पार्टीबीच भएको एकतामा सहभागी नभएका शर्मा र किरातीको उपस्थिति यस छलफलमा महत्वपूर्ण मानिएको छ ।
राजनीतिक वृत्तमा यो भेटवार्तालाई नयाँ राजनीतिक समीकरण र वैकल्पिक शक्ति निर्माणको पूर्वसंकेतका रूपमा हेरिएको छ ।



