काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सुनुवाइ हुँदैछ ।
न्यायाधीश बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा यो मुद्दाको पेसी तोकिएको हो ।बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेलाई रिहा गर्न अस्वीकार गरेपछि उनले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए । सहकारीमा आफू सम्बन्धित रकम दाखिला गरिसकेकाले थुनामुक्त गर्न माग गरे पनि जिल्ला अदालतले अस्वीकार गरेको थियो ।
त्यसपछि उच्च अदालत तुलसीपुरले लामिछाने र जोशी दुबैको मुद्दालाई एउटै इजलासमा एकसाथ सुनुवाइ गर्ने आदेश दिएको थियो ।सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गर्दै अभियोगपत्र दायर गरिएको छ । लामिछानेले सो बिगोको एक चौथाइ अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत निवेदनसहित पेस गरेका थिए । जोशीले पनि त्यस्तै रकमको जमानत पेस गरेका थिए ।तर, जिल्ला अदालतले प्रतिवादीहरूको व्यक्तिगत बिगो कति पर्ने भन्ने स्पष्ट नभएको भन्दै दुवैलाई थुनामै राख्ने आदेश दिएको थियो ।
हाल लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा सारिएको छ भने जोशी अझै भैरहवा कारागारमै छन् । आजको सुनुवाइबाट यो मुद्दाले नयाँ कानुनी मोड लिने अपेक्षा गरिएको छ ।



