काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको छ। कार्यतालिका अनुसार निर्वाचन कार्यक्रम पुस २० गतेदेखि सञ्चालन हुनेछ।
निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी–विरोध, मनोनयन फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका कार्यहरू हुने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले आन्तरिक व्यवस्थापन र प्रशासकीय सहजताका लागि कार्यतालिका स्वीकृत गरेको हो। उनले आवश्यकता अनुसार कार्यतालिकामा संशोधन गर्न सकिने बताए। “आयोगको आन्तरिक कार्यलाई व्यवस्थित गर्न कार्यतालिका स्वीकृत गरिएको हो, दलहरूसँग परामर्श गरेर निर्वाचन कार्यक्रम पछि सार्वजनिक हुनेछ,” उनले भने।
कार्यतालिका अनुसार आयोगले मङ्सिर पहिलो साता निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गर्नेछ। दल दर्ताका लागि एक साताको समयसीमा तोकिनेछ। त्यसपछि मङ्सिर दोस्रो साता दर्ता स्वीकृत र निर्वाचन चिह्न वितरण गरिनेछ।
आयोगले मतदाता नामावली तयार गर्ने, निर्वाचन सामग्री पहिचान र मौज्दात विश्लेषण कार्य कात्तिकभित्रै सम्पन्न गर्नेछ। मतदाता नामावली पुस पहिलो साता सार्वजनिक गरिनेछ।
राष्ट्रिय सभा सदस्यका लागि मतदान प्रदेशका प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष समावेश निर्वाचकमण्डलबाट हुने कानुनी व्यवस्था छ।
आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुँदैछ। तीमध्ये १८ जना निर्वाचित र एक जना राष्ट्रपतिबाट मनोनीत सदस्य हुन्। यस पटक कोशीबाट तीन, मधेशबाट चार, लुम्बिनीबाट तीन, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई–दुई जना सदस्य निर्वाचित हुनेछन्।
सरकारको कात्तिक १२ गतेको मन्त्रीपरिषद् बैठकले माघ ११ गते निर्वाचन मिति तोकेको थियो। निर्वाचन ऐन अनुसार पद रिक्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि मतदान गर्नुपर्ने प्रावधान छ। आयोगले त्यही अनुसार मिति निर्धारण गर्दै तयारी अघि बढाएको हो।
कार्यतालिका अनुसार पुस पहिलो साता मतदान स्थल र केन्द्र निर्धारण, दोस्रो साता निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना हुनेछ। पुस अन्तिम साता मतपत्र छपाईसहितका कार्य समानान्तर रूपमा सञ्चालन हुनेछन्। माघ पहिलो साता प्रचारप्रसार अवधि रहने र मतदानअघि ४८ घण्टादेखि मौन अवधि सुरु हुने आयोगले जनाएको छ।



