काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पछिल्ला दुई दशकमा नेपालमा ठूला संरचनात्मक र सामाजिक परिवर्तन भए पनि राजनीतिक दलहरूको नेतृत्वमा कुनै सुधार नदेखिएको बताएका छन् ।
बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान, राज्य व्यवस्था, बसाइँसराई, आर्थिक गतिविधि, बजार विस्तारदेखि प्रविधिको विकाससम्म सबै क्षेत्रमा ठूलो परिवर्तन आए पनि पुराना दलहरूको नेतृत्व भने स्थिर रहँदै आएको टिप्पणी गरे ।
भुसालले भने, “हामीले नयाँ संविधान लेख्यौँ, नयाँ राज्य व्यवस्था बनायौँ, प्रविधिले समाजको सोच र व्यवहार बदल्यो, मनोविज्ञान नै रूपान्तरण भयो, तर राजनीतिक दलको नेतृत्व भने २० वर्षअघि जस्तै उहीँ छ ।”
उनका अनुसार संसद विघटन हुँदा पनि एमालेका अध्यक्ष केपी शर्मा ओली उहीँ रहनु, पार्टी फुटे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पदमै रहनु, र भ्रष्टाचार मुद्दा लाग्दा पनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पद नछोड्नु नेतृत्व परिवर्तन हुन नसकेको स्पष्ट संकेत हो ।
भुसालले राजनीतिक दल र नेतृत्वमा सुधार नआएसम्म राज्य संयन्त्रमा सुशासन सम्भव नहुने दाबी गरे । उनका शब्दमा, “राज्य सुधारको पूर्वशर्त नै राजनीतिक दल र नेतृत्वको सुधार हो । नेतृत्व नै स्थिर र जड बनेर बस्दा समाजमा आएको परिवर्तनलाई नीतिगत रूपान्तरणमा रूपान्तरण गर्न सकिँदैन ।”




