राजनीति

महामन्त्री गगन थापाद्वारा पुस १६ देखि १९ गतेभित्र कांग्रेसको १५औं महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस १६ देखि १९ गतेभित्र पार्टीको १५औं महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्।

थापाले उक्त प्रस्ताव पार्टीको जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेका हुन्।

बैठकको सुरुवातमा सम्बोधन गर्दै उनले पुस १६ देखि १९ सम्म महाधिवेशन गर्ने प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।

यसअघि नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाखको अन्तिम साता गर्ने प्रस्ताव गरेको थियो।

सोमबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी वैशाख २५ देखि २८ सम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो।

यसबीच, संस्थापनइतर नेताहरूले भने प्रतिनिधिसभा निर्वाचनअघि नियमित महाधिवेशन नत्र विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएका छन्।

उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सहितको मागपत्र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *