काठमाडौं । हिंसात्मक अभिव्यक्ति दिएको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ। भुसालले सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र तत्कालीन काठमाडौं प्रजिअ छवि रिजालको घर घेर्ने चेतावनीसहितको अभिव्यक्ति दिएका थिए।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार भुसाललाई मंगलबार गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको हो। उनलाई हाल काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
भुसालको विवादित अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक निकायहरू र स्थानीय युवाबीच तनाव बढ्ने सम्भावना देखिएपछि प्रहरीले अग्रिम रूपमा नियन्त्रणमा लिएको बताइएको छ।
यसअघि पनि उनी २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा पक्राउ परेका थिए। त्यतिबेला उनको स्वास्थ्य परीक्षणमा गाँजा सेवन गरेको पाइएको थियो र सुधार केन्द्र पठाउने सर्तमा परिवारको जिम्मामा छोडिएको थियो।
तर, त्यसपछि पनि उनका विवादास्पद अभिव्यक्ति रोकिएका छैनन्। हालै उनले ‘जेनजी प्रदर्शन’ क्रममा ओली, लेखक र प्रजिअले सर्वसाधारणमाथि अत्याचार गरेको आरोप लगाउँदै उनीहरूको घर घेर्ने चेतावनी दिएका थिए, जसपछि प्रहरीले पुनः उनीमाथि कारबाही अघि बढाएको हो।




