राजनीति

कांग्रेस संस्थापन पक्षीय सदस्यहरूको भेला नयाँ वानेश्वरमा , पार्टीलाई निकास दिने तयारी

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको निर्णयहीनता र आगामी निर्वाचनसम्बन्धी अनिश्चिततालाई मध्यनजर गर्दै संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले नयाँ बानेश्वरमा भेला भएका छन्।

आनन्दभूमि ब्याङ्क्वेटमा बसेको छलफलमा कार्यसम्पादन समितिमा नरहेका सदस्यहरूले पार्टीको वर्तमान अवस्था, महाधिवेशनको विकल्प र आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन तयारीबारे गम्भीर बहस गरेका छन्। भेलामा पूर्वमन्त्री वीरबहादुर बलायर, सीता गुरुङ, शङ्कर भण्डारी, मीन विश्वकर्मा, दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महेन्द्र लिम्बु, गुरु बराल र नैनसिंह महरलगायतका नेताहरू सहभागी छन्। मीन विश्वकर्मा पार्टीको प्रचार विभाग प्रमुख पनि हुन्।

संकट र समाधानबारे बहस

भेलामा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीलाई निर्णयहीनताबाट मुक्त गर्ने उपायबारे गम्भीर छलफल भएको बताए। उनका अनुसार, “पार्टीभित्र कसैले विशेष महाधिवेशनको कुरा गर्छन्, कसैले नियमित महाधिवेशनको मिति तय गर्नुपर्छ भन्छन्। यी फरक मतबीच सन्तुलन खोज्ने र कांग्रेसलाई संकटबाट निकाल्ने उपायबारे हामी छलफल गरिरहेका छौं।”

त्यस्तै, शङ्कर भण्डारीले वर्तमान केन्द्रीय समितिलाई “अनिर्णयको बन्दी” भएको टिप्पणी गर्दै, यस अवस्थाबाट पार्टीलाई निकास दिलाउन संस्थापन पक्षीय सदस्यहरू सक्रिय हुनुपर्ने धारणा राखे। “केन्द्रीय समिति ठप्पजस्तै बनेको छ। त्यसलाई सक्रिय र निर्णयक्षम बनाउन हामी आन्तरिक रूपमा तयारी गर्दैछौं,” भण्डारीले भने।

निर्वाचन तयारीमा जोड

भेलामा सहभागी सदस्यहरूले आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचनलाई सफल बनाउनेतर्फ संस्थागत निर्णय गर्न नेतृत्वलाई दबाब दिने निर्णय गरेका छन्। स्रोतका अनुसार, पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ ९सत्यापन० गर्ने र त्यसपछि नेतृत्वसँग औपचारिक माग प्रस्तुत गर्ने तयारी पनि गरिएको छ। भेलालाई पार्टीभित्र संस्थापन पक्षीय नेताहरूको संगठनात्मक पुनःसक्रियता र आन्तरिक सन्देशको अभ्यासका रूपमा हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *