महोत्तरी। मधेस प्रदेशका महोत्तरीसहित मिथिला क्षेत्रमा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ । यो पर्वलाई अक्षय नवमी, धातृ नवमी र इच्छा नवमी पनि भनिन्छ । कात्तिक शुक्ल नवमीका दिन मनाइने यस पर्वमा अमला (धातृ)को रूखमुनी सामूहिक रूपमा भोजन गर्ने परम्परा रहिआएको छ ।
मैथिल परम्परा अनुसार एक दिनअघि नै सामूहिक भोजनको तयारी गरिन्छ । परिवार तथा समुदायका सदस्यहरू घर नजिकै वा बगैँचामा रहेको अमलाको रूखमुनी परिकार पकाई त्यहीँ भोजन गर्ने चलन छ । अमलाका पात खानामा पर्दा शुभ मानिने विश्वास छ ।
यस दिन अमलाबाट बनेका अचार, मुरब्बा र चटनीजस्ता परिकारसँग साकाहारी भोजन मात्र खाने परम्परा छ । मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्थ डा. रवीन्द्र दास वैष्णवका अनुसार यो पर्वले चिसो मौसममा शरीरलाई रोगप्रतिरोधी बनाउन अमलाको सेवनमा जोड दिन सन्देश दिन्छ ।
जलेश्वर–५ पतैलीका संस्कृतिविद् ध्रुव रायका अनुसार यस पर्वले युवाहरूमा सांस्कृतिक चेतना र परम्परा संरक्षणमा रुचि बढाएको छ । स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झालका अनुसार अमलाको नियमित प्रयोग स्वास्थ्य सचेतनाका दृष्टिले पनि लाभदायक छ ।
मिथिलामा यस पर्वसँग द्वापर युगको कथा पनि जोडिएको छ । कात्तिक शुक्ल नवमीका दिन भगवान् श्रीकृष्णले कुष्माण्डक दैत्यको वध गरेर गोवर्द्धन, वृन्दावन र मथुराको परिक्रमा गरेको विश्वास छ ।
हिन्दू मैथिल विश्वासअनुसार कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाको रूखमा वास गर्छन् । यही कारण यो दिनलाई अक्षय नवमी पनि भनिन्छ । विष्णुको आराधनाले इच्छित फल प्राप्त हुने भएकाले यसलाई इच्छा नवमी र अमलाको प्रयोगमा जोड दिइने भएकाले धातृ नवमी समेत भनिन्छ ।




