देश

थापाथली चोकमा अवैध संरचनामाथि डोजर आतंक

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रका अवैध संरचनामाथि डोजर चलाउँदै निर्माण नियन्त्रण अभियानलाई फेरि तीव्र बनाएको छ। नक्साबिनाका घरटहरा र व्यापारीक संरचनामाथि कार्यवाही गर्दै महानगरले ‘कानूनभन्दा बाहिरको विकास’ स्वीकार्य नहुने सन्देश दिएको छ।

महानगरको वडा नम्बर ११ अन्तर्गत थापाथली चोकबाट त्रिपुरेश्वरतर्फ जाने मोडमा रहेका संरचनाहरूमा शुक्रबार बिहान डोजर चलाइएको हो। महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले गुठी संस्थानसँग समन्वय गरेर कारबाही गरिएको बताए।

“गुठीसँग मिलेर हामीले भत्काएका हौं। ती संरचना नक्साविना बनेका र गुठीको जग्गा अतिक्रमण गरेर खडा गरिएका थिए,” प्रमुख पाण्डेले स्पष्ट पारे।

काठमाडौं महानगरले पछिल्ला महिनाहरूमा अवैध निर्माण र अतिक्रमणविरुद्ध लगातार अभियान चलाइरहेको छ। यसअघि समेत रत्नपार्क, नयाँबानेश्वर, कपन र बल्खु क्षेत्रमा नक्साविना बनेका घर र पसल हटाइएको थियो।

तर, यसरी डोजर चलाउने कार्यले फरक प्रतिक्रिया पनि ल्याएको छ। प्रभावित स्थानीयहरूले पूर्वसूचना र वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूको भनाइ छ, “यदि अवैध नै हो भने पनि चेतावनी, समय र प्रक्रिया आवश्यक थियो, तर यहाँ त सीधा बुल्डोजर आयो।”

शहरी योजनाकारहरूले भने महानगरको कदमलाई ‘कानूनी राज्य पुनर्स्थापनाको अनिवार्य प्रक्रिया’ भनेका छन्। उनीहरूका अनुसार, नक्साविना निर्माण र जग्गा अतिक्रमणले काठमाडौंको शहरी स्वरूप बिगार्दै लगेकाले अब कानूनी कठोरता अपरिहार्य बनेको हो।

महानगरले भने यस अभियानलाई दीर्घकालीन रणनीति बताउँदै, “शहरलाई नक्साअनुसार व्यवस्थित बनाउने” लक्ष्य दोहोर्याएको छ।
थापाथलीको घटना त्यसै दिशामा भएको उदाहरणका रूपमा लिइँदैछ — जहाँ विकासको नाममा अराजकता चल्न नदिने महानगरको सन्देश फेरि स्पष्ट भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *