मधेश प्रदेश

मधेशमा सत्ता समीकरण टुंगोमा लैजाने प्रयास, पाँच दलको निर्णायक बैठक आज

काठमाडौं । मधेश प्रदेशमा सरकार विस्तार र मन्त्रालयको भागबण्डा टुंग्याउने उद्देश्यसहित सत्तारूढ पाँच दल आज निर्णायक छलफलमा बस्दै छन्। रौतहटको चन्द्रनिगाहपुरमा बिहान ११ बजे लोसपा, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूको संयुक्त बैठक तय भएको छ।

बैठकमा सरकार विस्तारका साथै मन्त्रालय बाँडफाँट, सरकारको कार्यादेश (टिओआर), विश्वासको मत लिने तयारी र सत्ता स्थायित्वबारे विस्तृत छलफल हुने बताइएको छ। साथै, जनमत पार्टीबाट छुट्टिएको नयाँ दल जनस्वराज र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउने सम्भावनाबारे छलफल हुने स्रोतले जनाएको छ।

गत असोज २९ गते पाँच दलको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका थिए। उनले असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएर सरकार गठनको प्रारम्भिक चरणमा जनमतका महेशप्रसाद यादव र एकीकृत समाजवादीका कनिष पटेललाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए।

तर मन्त्रालय बाँडफाँटमा सहमति नजुटेकाले एक सातासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। बिना विभागीय मन्त्रीहरूलाई समेत जिम्मेवारी तोकिएको छैन। आजको बैठकले मन्त्रालय वितरणको टुंगो लगाउँदै मधेश सरकारलाई पूर्णता दिने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *