देश

सिरहामा एकै परिवारमाथि आक्रमण, पीडितको आरोप — ‘दोषी उम्काउन प्रहरीले जाहेरी दर्ता गर्न मानेन’

काठमाडौं । सिरहाको मिर्चैया नगरपालिका–३ छड्की टोलमा एकै परिवारमाथि भएको आक्रमणपछि पीडित पक्षले प्रहरीमाथि गम्भीर आरोप लगाएको छ। पीडितले दोषीलाई राजनीतिक दबाबमा छोडिएको र जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको दाबी गरेका छन्।

घटना कात्तिक २ गते बेलुका घटेको हो। घरमै प्रवेश गरेका करिब १५–२० जनाको समूहले खुकुरी, रड र भाटा प्रयोग गरी आक्रमण गर्दा ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती दुर्गी देवी यादव, छोरा जमाहिर यादव र बुहारी रिता यादव घाइते भएका थिए। उनीहरू मध्ये केही अझै उपचाररत छन्।

घटनापछि प्रहरीले मिर्चैया–३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादवसहित पाँचजनालाई नियन्त्रणमा लिएको थियो। तर पीडितको दाबी अनुसार, राजनीतिक दबाबका कारण तीनजनालाई प्रहरीले छाडेको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेशराज पुरीले भने अनुसन्धानका क्रममा ती तीन व्यक्तिको संलग्नता नदेखिएकाले तारेखमा छाडिएको बताएका छन्। उनका अनुसार, जीतवाहन मेलामा दुई किशोरबीचको पुरानो विवादकै निहुँमा यो आक्रमण भएको हो।

तर पीडित शिवनन्दन यादवले भने प्रहरीकै मिलोमतोमा दोषी उम्काएको आरोप लगाएका छन्। उनले भने, “घटनामा संलग्नको नाम हटाएर मात्रै जाहेरी दर्ता गर्ने भनिएको छ। दोषीलाई नै छोडेपछि हामीले कसरी न्याय पाउनेरु”

प्रहरी पक्षले भने संलग्न नभएका व्यक्तिको नाम राखिएको कारण जाहेरी दर्ता हुन नसकेको स्पष्ट पारेको छ।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *