काठमाडौं । जेनजी आन्दोलनले नेपालको राजनीतिक र सामाजिक धरातल हल्लाएको छ। आन्दोलनको मूल मर्म लोकतान्त्रिक असन्तुष्टिको अभिव्यक्ति भए पनि त्यसको परिणामले व्यवस्था नै संकटमा पारेको छ। ऐतिहासिक सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म धुवाँ र धुलोले ढाकिँदा जनताको आस्था हल्लिएको छ। राजधानीको मुटुमा भएको तोडफोड, आगजनी, र हिंसाले लोकतन्त्रको आत्मामै घाउ पुर्याएको अनुभूति गराएको छ।
सेनाको प्रतिवेदन अनुसार ७६ जनाको ज्यान गएको, सयौं सरकारी र निजी संरचना ध्वस्त भएको तथ्यले देशले ठूलो मूल्य चुकाएको संकेत गर्छ। १५ हजारभन्दा बढी कैदी फरार र सयौं हतियार हराएको अवस्था कुनै सामान्य राजनीतिक अस्थिरता होइन — यो राज्य संयन्त्रमै चरम संकटको लक्षण हो।
सरकार, जसको नेतृत्व पूर्वमुख्य न्यायाधीश शुशिला कार्कीले गरिरहेकी छिन्, अहिले कठोर प्रश्नको घेरामा छ। बालेन शाहको प्रभावमा सरकार चलेको आरोपले सत्ता संयन्त्रप्रति नै अविश्वास पैदा गरेको छ। ओमप्रकाश अर्याल गृहमन्त्री नियुक्ति र बालेन–सरकारबीचको शक्ति सन्तुलनबारे जनतामा गम्भीर शंका उत्पन्न भएको छ।
संसद विघटनलाई असंवैधानिक भन्दै कांग्रेस र एमालेको विरोध तीव्र छ। सर्वोच्चमा १६ वटा रिट दर्ता भइसकेका छन्, । अर्कातिर राप्रपा र रास्वपा जस्ता दलहरुले आन्दोलनको लाभ लिन खोज्दै नयाँ विकल्पको नाममा जनमत तान्ने प्रयत्न गरिरहेका छन्।
पूर्वप्रधानमन्त्री प्रचण्डको भूमिका पनि विवादास्पद बनेको छ। सरकारले आफू र आफ्नो पार्टीमाथि अनुसन्धान गर्न लागेको आरोप लगाउँदै उनले आन्दोलनकारीहरूसँग सहानुभूति देखाएका छन्। तर यो सहानुभूति रणनीतिक हो वा राजनीतिक, भन्ने प्रश्न अझै खुला छ। सत्ता नजिक पुग्नका लागि प्रचण्डले जेनजी आन्दोलनलाई अवसरको रूपमा उपयोग गरेको आरोप थप बलियो बन्दै गएको छ।
बिना रोडम्यापको यात्रा
अन्तरिम सरकारले तोकेको २०८२ फागुनमा निर्वाचन गर्ने घोषणा गरे पनि त्यसका लागि ठोस तयारी देखिँदैन। निर्वाचन आयोगदेखि सुरक्षा संयन्त्रसम्म अनिश्चिततामा छन्। यही अस्पष्टताले देशलाई रोडम्यापरहित यात्रामा दुर्घटनाको खतरातर्फ धकेलिरहेको छ।
जेनजी आन्दोलनले राजनीतिक नेतृत्वको नैतिकता, राज्यको नियन्त्रण क्षमताको सीमा, र जनताको आस्थाको क्षय तीनवटै कुराको नाङ्गो चित्र प्रस्तुत गरेको छ। अब आवश्यक छ— राजनीतिक प्रतिशोध होइन, राष्ट्रिय पुनर्संरचनाको खाका। यदि नेतृत्वले स्पष्ट दिशानिर्देश, पारदर्शी संवाद र संवैधानिक प्रतिबद्धता देखाएन भने— यो आन्दोलनको आगो नमर्ने निश्चित छ।




