मधेश प्रदेश

मधेशको नयाँ सत्ता समीकरण : जनमतको कित्ता फेरेपछि जितेन्द्र सोनल मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं । मधेश प्रदेशमा लामो रस्साकस्सीपछि अखेर लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेता जितेन्द्र सोनल मुख्यमन्त्री बनेका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार उनलाई सोमबार साँझ औपचारिक रूपमा मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

सोनलले आजै दिउँसो जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र लोसपा गरी ६ दलको समर्थनसहित ५७ सांसदको हस्ताक्षर लिएर दाबी पेश गरेका थिए। त्यसपछि केही घण्टामै प्रदेश प्रमुखले उनलाई सरकार गठनका लागि आमन्त्रण गरिन्।

सोनलसँगै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि ५८ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। तर, उनले देखाएको समर्थनमा रहेको जनमत पार्टीको हस्ताक्षर विवादित ठहरिएपछि प्रदेश प्रमुखले सोनलको दाबी मान्य गरेकी हुन्।

स्रोतका अनुसार, जनमत पार्टीभित्र मतभेद चर्किएपछि अन्ततः पार्टीले सोनल नेतृत्वको गठबन्धनतर्फ झुकेको पुष्टि गरेको थियो। त्यसपछि कांग्रेस–एमाले पक्षको दाबी स्वतः निष्प्रभावी बनेको हो। मुख्यमन्त्री नियुक्तिपछि जनमत पार्टीभित्र गम्भीर दरार आएको छ। पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह ‘दीपक’ ले आजै जनमत पार्टी त्यागेर जनस्वराज पार्टी (जस्वपा) मा सनाखत गरेका छन्। यस क्रममा जनकपुरस्थित निर्वाचन कार्यालयमा जनमतका कार्यकर्ता र समर्थकबीच झडपसमेत भएको स्थानीय प्रशासनले जनाएको छ।

मुख्यमन्त्री नियुक्ति अघि दुवै पक्षका नेताहरू एकै समयमा प्रदेश प्रमुख कार्यालयमा पुग्दा केहीबेर तनाबपूर्ण अवस्था बनेको थियो। सुरक्षा निकायले कार्यालय परिसरमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेर स्थिति नियन्त्रणमा लिएको थियो। मधेशको नयाँ सत्ता समीकरणले प्रदेश राजनीतिमा नयाँ पाना खोलेको छ। लोसपाले फेरि एकपटक सत्ता केन्द्रमा पहुँच बनाएको छ भने कांग्रेस–एमाले गठबन्धन संख्यात्मक बहुमतको हिसाबले कमजोर देखिएको छ। विश्लेषकहरूको भनाइमा, जनमतको अन्तिम निर्णयले सोनलको दाबी जिताएको भए पनि दलभित्रको असन्तुष्टि र अस्थिरता अझै कायम छ।

मधेश प्रदेशमा सोनलको नेतृत्वमा बनेको नयाँ गठबन्धन अहिले स्थायित्वको परीक्षामा छ। जनमतको कित्ता फेरिने खेलले देखाएको संकेत स्पष्ट छ — मधेशको राजनीति अहिले पनि संख्याको गणित होइन, विश्वासको समीकरणमा अडिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *