काठमाडौं । हमासले इजरायललाई हस्तान्तरण गरेका चार शवमध्ये एक नेपाली युवक विपिन जोशीको भएको फरेन्सिक परीक्षणपछि पुष्टि भएको छ।
इजरायली सेनाका अनुसार तेलअभिभस्थित अबु काबिर फरेन्सिक संस्थानमा गरिएको परीक्षणबाट चारै शवको पहिचान गरिएको हो। सेनाले यसबारे सम्बन्धित परिवारहरूलाई आधिकारिक रूपमा जानकारी गराएको छ।
विपिनका दाजु किशोर जोशीले भने, “विपिनको शव पहिचान भएको खबर पाएका छौं। तर नेपाल ल्याउने मिति भने अझै तोकिएको छैन। आवश्यक प्रक्रिया पूरा भएपछि खबर गर्छौं भनेका छन्।”
इजरायली सेनाले विज्ञप्तिमार्फत विपिनको हत्या युद्धको पहिलो महिनामै गाजामा कैद अवस्थामा गरिएको दाबी गरेको छ। तर हमासले भने इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको बताएको छ।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए
विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए।२०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा अलुमिम किबुजबाट विपिनलाई बन्धक बनाइएको थियो।
सोही दिन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो।
हमासले विपिनलाई बन्धक बनाएर लैजाँदै गरेको भिडियो पनि सार्वजनिक गरेको थियो, जसमा उनको टाउको कपडाले छोपिएको देखिन्थ्यो। त्यसपछि एक वर्षभन्दा बढी समयसम्म उनको अवस्था अज्ञात रह्यो।
फरेन्सिक परीक्षणपछि विपिनको मृत्यु पुष्टि भए पनि शव नेपाल ल्याउने प्रक्रिया अझै सुरु भएको छैन।
इजरायली पक्षले अनुसन्धान पूरा भएपछि मृत्युको कारण र अवस्थाबारे अन्तिम रिपोर्ट सार्वजनिक गर्ने जनाएको छ।



