काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित अन्तरिम सरकारका प्रतिनिधिसहितको सर्वदलीय बैठकमा उनले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जान राजनीतिक दलहरूलाई सुझाव दिए ।
राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै एकजुट भएर निर्वाचन सम्पन्न गराउनुपर्ने बताउँदै राजनीतिक दलहरूमा कुनै द्विविधा वा अस्पष्टता भए बैठकमा राख्न आग्रह गरे । उनले निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालिए ‘देश कहाँ पुग्छ ?’ भन्ने सोच्न पनि सबैलाई आग्रह गरे ।
सबै राजनीतिक पार्टीले अन्योल सृजना नगरी जेनजी समूहको माग पूरा गर्ने उद्देश्यसहित जनतामाझ जान उनले अनुरोध गरे ।
बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने दलहरू निर्वाचनमा जान सधैँ तयार रहेको र शान्ति सुरक्षा व्यवस्था, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड दिएका थिए । उनिहरुले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सरकारसमक्ष आग्रह गरेका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन सम्भव नहुने विषयमा सरकार जानकार रहेको बताउँदै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।
उनले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सरकारले गर्ने विश्वास दिलाइन् । प्रधानमन्त्री कार्कीले भनिन् ‘जेनजी समूह हाम्रा छोरा, नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्नुपर्छ, यहीअनुसार दलहरू अगाडि बढ्दा देश र जनताको हित हुन्छ ।’
बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री वीपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सहभागी थिए ।
त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट डा. चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला सहभागी थिए । त्यस्तै, नागरिक उन्मुक्तिबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनील प्रजापति बैठकमा सहभागी थिए ।



