काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आफू वा तत्कालीन प्रधानमन्त्रीले कुनै किसिमको गोली चलाउने वा दमन गर्ने आदेश नदिएको स्पष्ट गरेका छन्।
शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले आन्दोलनका क्रममा सरकारको तर्फबाट बल प्रयोगको आदेश दिइएको भन्ने चर्चा निराधार रहेको बताए।
‘भदौ २३ गते दुःखद घटना भएपछि मैले गृहमन्त्री पदबाट राजीनामा दिएँ। भदौ २४ गते भएका घटनाबारे प्रधानमन्त्री वा गृहमन्त्रीले आदेश दिएको भन्ने कुरा उठेका छन्,’ उनले भने, ‘तर म स्पष्ट पार्न चाहन्छु— यस्तो आदेश दिने विषय नै होइन। प्रधानमन्त्री वा मेरो तर्फबाट कुनै आदेश दिइएको थिएन।’
लेखकले लोकतान्त्रिक प्रणालीको मजबुतीका लागि सबै राजनीतिक दलबीच बृहत्तर एकता आवश्यक रहेको उल्लेख गर्दै जेनजी युवाले उठाएका मागलाई सम्बोधन गर्दै लोकतान्त्रिक पद्धतिलाई अघि बढाउनुपर्ने बताए।
‘जेनजी पुस्ताले उठाएका मागहरू बुझेर लोकतन्त्रका मूल्य मान्यताभित्र रहेर अघि बढ्न जरुरी छ,’ उनले भने, ‘अहिलेको समय आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा माथि उठेर विधिको शासनस्थापनातर्फ सबै दल जिम्मेवार हुनुपर्छ।’
भदौ २३ गतेको आन्दोलनपछि राजीनामा दिएका लेखक त्यसयता पहिलोपटक सार्वजनिक रूपमा बोलेका हुन्। उनले २३ र २४ गतेका घटनाको छानबिनका लागि बनेको आयोगले संविधान र कानुनअनुसार निष्पक्ष रूपमा काम गर्नुपर्नेमा जोड दिए।
‘सरकार, आयोग र राजनीतिक दलहरूले लोकतान्त्रिक मूल्य र कानुनी शासनभित्र रहेर आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ,’ लेखकले भने, ‘त्यसरी काम गर्न सकेमा मात्र मुलुक सही दिशातर्फ अघि बढ्न सक्छ।’



