काठमाडौं । मुलुककै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा बिक्रीका लागि ल्याइएका हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्यधिक मात्रामा विषादी फेला परेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मकवानपुरबाट ल्याइएको हरियो फर्सीमा ४५.५९ प्रतिशत, धादिङबाट ल्याइएको घिरौँलामा ६५.०३ प्रतिशत, र काठमाडौंमै उत्पादित काँक्रोमा ५२.९२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादीको अवशेष भेटिएको हो।
केन्द्रीय कृषि प्रयोगशालाले बिहीबार कालीमाटी बजारका १५ वटा पसलबाट संकलन गरिएका १५ प्रकारका तरकारी तथा फलफूल परीक्षण गरेको थियो। परीक्षणका क्रममा यी तीन तरकारीमा मापदण्डभन्दा धेरै विषादी फेला परेको हो।
बजार विकास समितिका अनुसार यस्तो मात्रामा विषादी भेटिएका तरकारीहरू मानव उपभोगका लागि अयोग्य छन्।
सरकारले विषादीको मात्रालाई मूल्याङ्कन गर्न बनाएको मापदण्ड अनुसार ३५ प्रतिशतभन्दा कम भएमा ती तरकारी उपभोगयोग्य मानिन्छन् । ३५–४५ प्रतिशत भए केही दिन राखेर मात्र उपभोग गर्न सकिन्छ भने ४५ प्रतिशतभन्दा बढी भए ती उपभोगका लागि अयोग्य ठहरिन्छन्।
यसअघि पनि असार महिनाको अन्त्यतिर रायो साग, घिउसिमी लगायतका तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो।



