काठमाडौं । पूर्वलाई काठमाडौंसँग जोड्ने प्रमुख लाइफलाइन मानिने बीपी राजमार्ग रोशी खोलाको बाढीले गर्दा पुनः अवरुद्ध भएको छ । चौकीडाँडादेखि नेपालथोक खण्डमा १७ ठाउँमा गरी करिब साढे चार किलोमिटर सडक बाढीले बगाएको छ, जसका कारण पूर्वका विभिन्न जिल्लाको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ । गत वर्ष असोजमा आएको बाढीले नौ किलोमिटर सडक बगाएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएकोमा शनिबार र आइतबारको अविरल वर्षाले फेरि ठूलो क्षति पुर्याएको हो ।
सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादका अनुसार गत वर्ष बाढीले बगाएको नौ किलोमिटरमध्येबाटै ३५ सय मिटर सडक पुनः बगेको हो । ‘१७ ठाउँमा सडक बगेको छ, जसमध्ये धेरैजसो ठाउँमा बनाइएका डाइभर्सनहरू हुन्,’ उनले भने, ‘यसबाहेक १०-२० मिटरका दरले अन्य ठाउँमा पनि सडक बगाएको छ । रोशी खोलामा पानीको बहाव उच्च भएकाले क्षतिको यकिन विवरण संकलन गर्न सकिएको छैन । मान्छे हिँड्न सक्ने अवस्था पनि छैन ।’
उनले रोशीको बहाव घटेको चार-पाँच दिनभित्र डाइभर्सन बनाएर यातायात सञ्चालन गर्न सकिने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बीपी राजमार्ग तीन-चार दिनभित्रै सञ्चालनमा ल्याइने बताएका छन् । यद्यपि, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार बोक्सेकुना, घुमाउने, चौकीडाँडा, डालाबेंसी, पिप्ले, माम्ती र चरंगेफेदीमा अस्थायी रूपमा बनाइएका सबै डाइभर्सनहरू बाढीले बगाएको छ । गत वर्ष करिब १० करोडको लागतमा सडक डिभिजनले डाइभर्सन बनाएर अस्थायी रूपमा राजमार्ग सञ्चालनमा ल्याएको थियो ।
मर्मत गरी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने गाउँपालिका अध्यक्ष लामाले बताए । बीपी राजमार्ग अवरुद्ध भएपछि पूर्वबाट आउने सवारीसाधनहरूलाई पुष्पलाल मार्ग (मध्यपहाडी राजमार्ग) भएर काठमाडौं पठाइएको छ । रामेछापसहितका जिल्लाका सवारीसाधनहरूलाई काठमाडौं आवतजावतमा सहजता ल्याउन यो मार्ग प्रयोगमा ल्याइएको हो । शनिबार साँझ यो मार्ग प्रयोग गरेर आएका केही सवारीसाधनलाई चरिकोटमा होल्ड गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार बीपी राजमार्गको वैकल्पिक मार्गका रूपमा सिन्धुलीको सित्खा, तेमाल-भकुन्डे सडकखण्ड हुँदै काठमाडौं प्रवेश गर्न सकिने भए पनि अहिले सो सडकखण्ड पनि अवरुद्ध छ ।
यसैबीच, अरनिको राजमार्गअन्तर्गत चौवन्नकिलो र खावा सडकखण्ड लेदोसहितको पहिरोले अवरुद्ध भएको थियो । तर, अहिले पहिरो पन्छाएर यातायात सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । काभ्रे र भक्तपुर जिल्लाको सीमाक्षेत्र साँगामा पनि पहिरो पन्छाएर यातायात नियमित गरिएको छ । हाल बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको र अरनिको राजमार्ग भने नियमित सञ्चालनमा रहेको उनको भनाइ छ ।
अविरल वर्षाका कारण देशभरका विभिन्न सडकखण्डहरूमा अवरोध सिर्जना भएको छ । यसले गर्दा सर्वसाधारणको यात्रा र दैनिक जनजीवनमा कठिनाइ थपिएको छ ।



