देश

टिकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौं । आश्विन शुक्ल द्वादशीको पावन अवसरमा पनि नवदुर्गा भवानीको प्रसाद स्वरूप टीका थाप्ने र मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम देशभर जारी रहेको छ । विजयादशमीका दिनदेखि सुरु भएको यो विशेष परम्परा कोजाग्रत पूर्णिमासम्म चल्ने भएकाले दशैँको माहोल अझै कायम छ ।

नवदुर्गाको नौ दिनसम्म विधिपूर्वक पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपश्चात् टीका, जमरा र आशीर्वाद लिने परम्परा नेपाली समाजमा छ । विशेषगरी आफन्तजन, अग्रज तथा मान्यजनको घरमा पुगेर निधारमा रातो टीका र कानमा जमरा सिउरँदै, सुख, शान्ति र समृद्धिको आशीर्वाद ग्रहण गर्ने चलनले पारिवारिक तथा सामाजिक बन्धनलाई अझै सुदृढ बनाएको छ ।

राजधानी काठमाडौँ उपत्यका लगायत देशका अधिकांश भागमा यो क्रम बाक्लो रूपमा चलिरहेको छ । मानिसहरू बिदाको सदुपयोग गर्दै टाढा टाढा रहेका आफन्तहरूसँग भेटघाट गर्न र उनीहरूको आशीर्वाद थाप्न पुगेका छन् । गाउँघरदेखि शहरबजारसम्म चहलपहल उत्तिकै छ ।

यद्यपि, पश्चिम नेपालका केही जिल्लाहरूमा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको पाइन्छ । दशैँको यो विशेष समयमा टीका र जमरा मात्र होइन, आफन्तसँगको पुनर्मिलन र आत्मीयता साट्ने अवसर पनि हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *