काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। उनले यसका लागि शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गरिने स्पष्ट पारे।
काठमाडौंको प्रज्ञा भवनमा शुक्रबार सम्पन्न केन्द्रीय समितिको सातौँ पूर्ण बैठकमा सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहले प्रस्तुत गरेको प्रस्तावलाई सम्बोधन गर्दै प्रचण्डले भने, “सम्पत्ति छानबिन आयोग गठन गरेर सबै नेताको सम्पत्ति सार्वजनिक गरिनेछ।”
प्रस्तावमा पार्टीका नेताको व्यक्तिगत सम्पत्ति मात्र नभई पार्टीकै सम्पत्तिसमेत छानबिन गर्नुपर्ने उल्लेख गरिएको थियो। यसका लागि पूर्वमहालेखा परीक्षक वा स्वतन्त्र व्यक्तिहरूको सहभागितामा कार्यविधि बनाई आयोग गठन गर्ने सिफारिस गरिएको थियो।
यसै बैठकले पार्टीको केन्द्रीय समिति भंग गरी आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशनसम्म पार्टी सञ्चालनका लागि प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको छ। पदाधिकारीसमेत आयोजक समितिमा रुपान्तरण गरिएका छन्।
बैठकले युवालाई प्राथमिकतामा राख्दै पार्टीका सबै संरचनामा ‘जेनजी’ पुस्ताको सहभागिता सुनिश्चित गर्ने, नेपोटिज्म नियन्त्रण गर्न कार्यविधि बनाउने, सूचना–प्रविधिलाई उच्च प्राथमिकतामा राख्ने र अन्य विचार मिल्ने दलहरूसँग एकता सम्भावना खोज्ने जस्ता निर्णयसमेत गरेको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले आफू अब अध्यक्ष नरहेको घोषणा गर्दै भने, “अब म अध्यक्ष होइन, महाधिवेशन आयोजक समितिको संयोजकमात्रै हुँ।” पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्ने र नेतृत्व पुनर्गठन गर्ने निर्णयसँगै माओवादी केन्द्रभित्र महत्वपूर्ण मोड आएको विश्लेषण गरिएको छ।




