काठमाडौं । जनयुद्धमार्फत गरिब जनताको मुक्तिको सपना बोकेर सत्तामा पुगेका माओवादी नेतृत्व अहिले आफ्नै विलासी जीवनशैलीका कारण कटघरेमा परेका छन्। केन्द्रीय समिति बैठकमै अध्यक्ष प्रचण्डको ६४ लाखको रोलेक्स घडी र उनकी छोरी गंगा दाहालको २८ लाखको लुई भिटन ब्यागबारे उठेको प्रश्नले पार्टीभित्रै आन्तरिक असन्तोष र शंकाको लहर चलाएको छ।
सार्क इन्चार्ज तथा केन्द्रीय सदस्य लक्ष्मण पन्तले लिखित प्रस्ताव पेस गर्दै प्रचण्ड र उनको परिवारको यस्तो विलासिताको वैधानिकता र स्रोतबारे स्पष्ट जवाफ मागे। उनले भने – “यदि मिडियामा आएका समाचार गलत हुन् भने सम्बन्धित मिडिया र सांसद सुनील शर्माविरुद्ध मानहानि मुद्दा हाल्न हिम्मत देखाउनुस्। नभए सत्य बाहिर ल्याउनुस्।”
पन्तले महँगो घडी वा ब्याग उपहारस्वरूप प्राप्त भएको भए पनि त्यसलाई व्यक्तिगत प्रयोग गर्नु नैतिक दृष्टिले आपत्तिजनक हुने टिप्पणी गरे। उनले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान उपहार घोटाला प्रकरण स्मरण गराउँदै, नेताको जीवनशैली पारदर्शी नहुँदा त्यसले जनतामा ठूला प्रश्न खडा गर्ने चेतावनी दिए।
घडी र ब्यागको प्रसंग मात्रै होइन, पन्तले अझ गम्भीर प्रश्नहरू उठाए –
अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमार्फत राज्यलाई भएको २० अर्बको क्षतिपूर्ति कसले बेहोर्छ? जनमुक्ति सेनाको पीएलए फन्डमा जम्मा भएको २ अर्ब ८२ करोडको हिसाबकिताब कहाँ हरायो? १८ वर्षमा ‘मालदार’ मन्त्रालय सम्हालेका नेताहरूको सम्पत्ति कसरी रातारात बढ्यो?
माओवादी केन्द्रले सडकबाट जनताको मुद्दा उठाउने दलको पहिचान बोकेको दाबी गर्दै आएको छ। तर, शीर्ष नेताहरूको जीवनशैलीमा देखिएको ठाँटबाँट, महँगा ब्रान्डेड सामग्रीप्रतिको मोह र सम्पत्तिको स्रोतबारेको मौनताले पार्टीको नैतिक धरातल कमजोर बनाइरहेको छ।
विशेषज्ञहरू भन्छन् – “जनयुद्धमार्फत जनतालाई त्याग र बलिदान सिकाउने नेतृत्व नै अहिले विलासिताको प्रतीक बन्नु माओवादी आन्दोलनकै आत्मघात हो। यदि नेताहरूले पारदर्शिता देखाउन सकेनन् भने यो पार्टीलाई जनतामाझ वैचारिक र नैतिक दिवालियापनले खाइदिनेछ।”




