काठमाडौं । नेकपा (माओवादी केन्द्र) अहिले विचार र संगठनभन्दा बढी व्यक्तिगत महत्वाकांक्षा र पद जोगाउने खेलमै सीमित भएको देखिएको छ। केन्द्रीय समिति बैठकमा उठेका धारणा र प्रस्तावहरूले पार्टीभित्रको भाँडभैलो अझ स्पष्ट पारेको छ।
उपमहासचिव हरिबोल गजुरेलले जेनजी आन्दोलनलाई समर्थन गर्दै पनि प्रचण्डको बचाउमा उभिएर “सडकले सरकार फेर्छ, तर पार्टी नेतृत्व होइन” भन्ने अभिव्यक्ति दिए। यो भनाइ आन्दोलनकारी युवाको उत्साहमाथि प्रहार मात्र नभई नेतृत्व जोगाउने रणनीति भनेर व्यापक आलोचना भएको छ।
त्यसैगरी, सचिव राम कार्कीले पार्टीलाई “जलेको घर” भन्दै विघटन गरेर नयाँ सिरेबाट निर्माण गर्नुपर्ने प्रस्ताव गरे। उनको भनाइले माओवादी नेतृत्व पुरानै संरचनामा अड्किएर सुधारको सम्भावना नै गुमाएको संकेत दिन्छ। यता अध्यक्ष प्रचण्डले भने विशेष महाधिवेशनसम्म नेतृत्व छाड्ने प्रश्नै उठ्दैन भन्दै आफ्नै प्रस्ताव अघि सारेका छन्। उनका प्रस्तावलाई अधिकांश सदस्यले समर्थन गरे पनि, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले फरक प्रस्ताव राख्दै तत्काल नेतृत्व पुस्तान्तरणको माग गरेका थिए।
तर प्रदेशवार छलफलमा प्रचण्डकै पक्षधर बहुमत देखिनु, माओवादीभित्र विचारभन्दा पनि व्यक्तिपूजा र चाकडी हाबी भएको प्रष्ट संकेत हो। पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया भन्दा “नेता–निर्भरता” को संस्कृति अझै बलियो छ भन्ने तथ्य खुलेर आएको छ। विश्लेषकहरू भन्छन् – “जनताको मुद्दा बोकेको दाबी गर्ने माओवादी आज नेताहरूको पद र स्वार्थ जोगाउने अखाडामा परिणत भएको छ। यो प्रवृत्ति रोकिने हो भने मात्र पार्टी पुनर्जीवन पाउन सक्छ, नत्र भाँचिने निश्चित छ।”




