काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० महिनादेखि घरभाडा नतिरेपछि घरधनीले कार्यालय रहेको भवन खाली गर्न अल्टिमेटम दिएका छन् ।
वनस्थलीस्थित घरमा रास्वपाको केन्द्रीय कार्यालय राख्न दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन आग्रह गरेका हुन् । उनले लामो समयदेखि भाडा नपाएको र सुरक्षाका कारण घर छोड्न जानकारी गराएको बताए ।
अमेरिकामा रहेका देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा भाडा सम्झौता भएको थियो । तर १० महिनाको भाडा र पार्टीलाई सापट दिएको रकमसमेत नपाएको उनले बताए ।
देवकोटा रास्वपाको अनुशासन आयोगका प्रमुखसमेत रहेकाले अमेरिकातर्फ प्रस्थान गरेपछि उनको स्थानमा कार्यवाहक तोकिएको थियो । पार्टीमा संलग्नता र घर भाडा फरक विषय भए पनि व्यवहार त्यही अनुसार नभएकोमा उनले असन्तुष्टि जनाए ।
स्थापना कालमा बसुन्धरामा रहेको कार्यालय सानो भएकाले रास्वपाले पछि देवकोटाको घरमा कार्यालय सारिएको थियो । रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार नियुक्त भएका थिए ।




