राजनीति

नारायणकाजीले प्रचण्डलाई अध्यक्ष पद छोड्न प्रस्ताव गर्दै औँल्याए माओवादीका ६ कमजोरी

काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नेतृत्व छोड्न सुझाव दिएका छन्। केन्द्रीय समितिको पछिल्लो बैठकमा उनले पार्टीको कमीकमजोरी औँल्याउँदै आफूलाई कार्यवाहक अध्यक्ष बनाउने मागसमेत राखेका थिए।

श्रेष्ठले भने, “जेनजी विद्रोहात्मक आन्दोलनले दिएको सन्देश र आगामी निर्वाचनको तयारीका सन्दर्भमा अध्यक्ष कमरेडले कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ।” उनले पार्टी शान्ति प्रक्रियामा आएका बेला गम्भीरता, तत्परता, नीति, योजना र आचरण देखाउन नसकेको भन्दै माओवादीलाई वैचारिक, सांस्कृतिक र संस्थागत रुपमा कमजोर रहेको आरोप लगाए।

उनका अनुसार, “हजारौँ शहीदको रगतबाट बनेको पार्टीले ती शहीदको सपना साकार गर्ने दिशामा अपेक्षित भूमिका खेल्न सकेको छैन। आम जनसमुदायसमक्ष यसका लागि हामीले विनम्रतापूर्वक क्षमा याचना गर्नु पर्छ।” श्रेष्ठले पार्टीको हालको भ्रष्टीकृत र कमजोर स्थितिबारे स्पष्ट गर्दै आत्मसमीक्षाको आवश्यकता औँल्याए।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले औँल्याएका माओवादीका ६ कम्जोरी यस्ता छन् :

एमसीसी अनुमोदन : पार्टीले एमसीसी परियोजनालाई आर्थिक विकास भन्दा रणनीतिक योजना ठानेको भए पनि संसदबाट अनुमोदन गरियो।
सरकार समीकरणमा हठात परिवर्तन : नेपाली कांग्रेससँगको गठबन्धनलाई अचानक तोडेर एमालेसँग नयाँ सरकार गठन गर्नु।

स्वार्थ र प्राथमिकतामा असन्तुलन : स्वार्थको द्वन्द्व भएको व्यक्तिलाई गृह मन्त्रालयको जिम्मेवारी दिनु र रास्वपा सभापतिप्रति असन्तुलित महत्त्व दिनु।
जनजागरणमा भ्रम : माओवादी जनजागरण अभियान चलिरहेको बेला शेरबहादुर देउवालाई समर्थनको संकेत गर्नु।

भिजिट भिसा विवाद : प्रमुख प्रतिपक्षीसँग २ बुँदे गलत सम्झौता गर्नु, जसले आम जनसमुदायमा नकारात्मक भाव पैदा गर्यो।

जेनजी आन्दोलनको नीतिगत असहमतिमा विवाद : विस्थापित एमाले र कांग्रेसका नेता मिलेर प्रतिनिधिसभा पुनर्स्थापना नारा दिनु, जबकि पार्टीले संवैधानिक ढाँचामा निर्णय गर्ने प्रस्ताव राखेको थियो।

विश्लेषकहरूले नारायणकाजीको प्रस्ताव र आलोचनालाई पार्टी भित्रको अन्तरविरोध र नेतृत्व पुनर्संरचनाको संकेतको रुपमा हेरिरहेका छन्। पार्टीभित्र यी विवादले आगामी रणनीति र चुनावी तयारीमा स्पष्टता आवश्यक भएको देखाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *