काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट नष्ट भएका संरचना पुनःनिर्माणका लागि सरकारले विशेष कोष स्थापना गरेको छ। ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ नाम दिइएको उक्त कोष राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालनमा ल्याइएको हो।
सरकारले सो कोषमार्फत भौतिक संरचनाको पुनर्निर्माणसँगै प्रभावित क्षेत्रको आर्थिक पुनरुत्थान र राहतकार्य अघि बढाउने बताएको छ। संघीय, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, स्वदेशी–विदेशी नागरिक, गैरआवासीय नेपाली, छिमेकी मुलुक, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाले यस अभियानमा योगदान गर्न सक्ने व्यवस्था मिलाइएको छ।
रकम सहयोग गर्न सहज बनाउन क्यूआर कोडमार्फत भुक्तानीको विकल्प पनि खुलाइएको छ। साथै, यस कोषमा गरिएको आर्थिक योगदान चालु आर्थिक वर्षको करयोग्य आय गणनामा खर्च कट्टीका रूपमा देखाउन सकिनेछ।
सहरी विकास मन्त्रालयका सचिव र सोही मन्त्रालयको आर्थिक प्रशासन शाखा प्रमुखलाई कोष सञ्चालनको जिम्मेवारी दिइएको छ। दुबै जनाको हस्ताक्षरमा मात्र खाता सञ्चालन हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
सरकारको दाबीअनुसार, यस कोषमार्फत ‘जेनजी’ आन्दोलनले पारिदिएको क्षतिको दिगो व्यवस्थापन गर्दै राष्ट्र पुनर्निर्माणलाई गति दिने लक्ष्य लिइएको छ।





