काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैं आजदेखि विधिवत् रूपमा सुरु भएको छ । दशैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा आज बिहान काठमाडौंको हनुमानढोका दरबारस्थित दशैं घरमा वैदिक विधिपूर्वक जमरा राखिएको छ ।
यस वर्षको घटस्थापनाका लागि बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा जौं छरेर जमरा राख्ने कार्य सम्पन्न गरिएको हो । दशैं घरमा जमरा राख्ने क्रममा नेपाली सेनाको एक टुकुण्डिले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ गरेर समारोहलाई थप भव्य बनाएको थियो ।
घटस्थापनाको दिन बिहानै नित्यकर्म समाप्त गरी पवित्र नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा विधिपूर्वक घडा (कलश) स्थापना गरिन्छ । यस घडामाथि जौं छरेर जमराको थालनी गरिन्छ । आज छरिएको यही जौंको अंकुरणलाई दशैंको टीकाको दिन देवीको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ ।
घट अर्थात् घडा स्थापना गरेर त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको आह्वान गरी पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिन्छ । शास्त्रीय मान्यताअनुसार सूर्योदयकालमा प्रतिपदा तिथि भएका दिन घटस्थापना गर्नुपर्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजको दिनलाई घटस्थापनाका लागि निर्णय गरेको हो ।
घटस्थापना गरिएको स्थानमा नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वती गरी दुर्गा देवीका तीन रूपहरूको विधिपूर्वक आह्वान गरी पूजा-आराधना गरिन्छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारीहरूका अनुसार, परम्पराअनुसार दशैं घरमा घटस्थापनापछि नवरात्रभर दैनिक बलि दिई शक्तिस्वरुपा दुर्गा देवीको पूजा गरिनेछ र मंगल धुन पनि बजाइनेछ ।
यस वर्ष बडादशैंको मुख्य दिन अर्थात् विजयादशमी असोज १६ गते परेको छ । टीकाका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ५३ मिनेटको शुभसाइत निर्धारण गरेको छ ।




