खेलकुद

नेपाली खेलाडीलाई भिसा दिन यूएई सहमत, वेस्ट इन्डिजसँगको सिरिज यथावत रहने क्यानको भनाइ

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच आसन्न टी–२० क्रिकेट सिरिजका लागि यूएईले नेपाली खेलाडीहरूलाई भिसा दिन सकारात्मक संकेत दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले इमिरेट्स क्रिकेट बोर्डमार्फत गरेको पहलमा यूएई सरकारबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको क्यानले जनाएको छ।

जेनजी आन्दोलनका कारण नेपालमा हजारौं कैदीहरू जेलबाट मुक्त भएपछि यूएईले नेपाली नागरिकलाई भिसा दिन अस्थायी रोक लगाएको थियो। सोही कारण खेलाडीहरूले केही दिनअघि आवेदन दिए पनि अहिलेसम्म भिसा प्राप्त गर्न सकेका छैनन्। नेपाली क्रिकेट टोली शुक्रबार यूएई प्रस्थान गर्ने तालिका थियो, तर भिसा नआएकाले भ्रमण स्थगित भएको हो।

नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा पहल गरेको थियो। त्यसको फलस्वरूप भिसा पाउने निश्चित भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

उनले भने, “भिसा आउने कुरामा हामी निश्चिन्त छौं। वेस्ट इन्डिजसँगको सिरिज तोकिएको तालिकामै हुनेछ।”

लामाले चाँडै नै खेलाडीहरूले भिसा प्राप्त गर्ने विश्वास व्यक्त गरे। सिरिजका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरिसकेको छ र टिकट बिक्री पनि सुरु भइसकेको छ। अनलाइनमार्फत टिकट बुकिङ खोलिएको क्यानले जनाएको छ।

नेपालले वेस्ट इन्डिजसँग २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी–२० खेल खेल्ने तालिका छ। प्रतियोगिताको सम्पूर्ण खर्च तथा व्यवस्थापन नेपाल क्रिकेट संघ (क्यान) ले नै गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *