काठमाडौं। स्वर्गीय नेता गणेशमान सिंहको ऐतिहासिक भवनमा आगजनी भएपछि हालैको जेनजी आन्दोलन चौतर्फी आलोचनाको घेरामा परेको छ। प्रजातन्त्रका योद्धा र २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको नाममा रहेको भवन जलाइएको घटनाले आन्दोलनको नैतिकता, उद्देश्य र वास्तविक एजेन्डामाथि गम्भीर प्रश्न उठाएको छ। २८औं पुण्यतिथिको अवसरमा आयोजित स्मृति सभामा नेता प्रकाशमान सिंहले यो घटनालाई “राजनीतिक उपलब्धिहरूलाई अवमूल्यन गर्ने दुष्प्रयास” को रूपमा चित्रित गरे। उनका अनुसार, कोइराला निवास, कृष्णप्रसाद भट्टराई आश्रम, सिंहदरबार र संसद भवनमा आगजनी हुनु केवल आकस्मिक घटना मात्र नभई योजनाबद्ध ‘इतिहास मेटाउने प्रयास’ हो।
प्रजातन्त्रका आधारस्तम्भ ठहरिएका नेताहरूको सम्पत्तिमाथि आक्रमण हुनु आन्दोलन लोकतान्त्रिक होइन भन्ने प्रमाणका रूपमा देखिएको छ। राजनीतिक योगदानलाई नजरअन्दाज गर्ने प्रयास जेनजी आन्दोलनले गरेको भन्दै सिंहले औंल्याएझैं, यो आन्दोलनको आवरणमा दलहरूको ऐतिहासिक योगदानलाई ‘शून्य’ ठहराउने र राजनीतिक व्यवस्थाको वैधता कमजोर बनाउने खेल भएको बताए । उनका अनुसार ऐतिहासिक भवन र कांग्रेसको पार्टी कार्यालयदेखि देशको गौरवको धरहरा जलाउनुमा अन्य दलका नेताको भूमिका समेत अग्र स्थानमा देखिएको बुझिएको छ । विशेष गरी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डल)ले जेनजी आन्दोलनलाई विभिन्न फन्डा बनाएर उस्काउदै आएका थिए । उनले भदौ २३ गते अगाडी नै सिंहदरबार ,संसद भवन घेर्न आगो लगाउन ठूलो संख्यामा जनता सडकमा आउने बताएका थिए । उनले भनेका थिए ,देशका ठूला ठूला सम्पतिमा समेत क्षेति पुग्छ अनि सत्ताले बुझ्नेछ नेपाली जनताको तागत ।’
जनतामैत्री आन्दोलन होइन भन्ने प्रश्न :जनतालाई अधिकार दिलाउन बनाइएका प्रतीकात्मक संरचनामाथि आगजनी हुनुले आन्दोलन जनतामैत्री नभई विध्वंसमुखी थियो भन्ने धारणा बलियो बनाएको छ। कांग्रेस नेता प्रकाशमान सिंहले घटनाको निष्पक्ष छानबिन र जिम्मेवार पक्षलाई स्पष्ट पार्न सरकार सचेत हुनुपर्नेमा जोड दिए। साथै, जनताले असन्तुष्टि व्यक्त गरेका विषयलाई सुधार गर्दै राजनीतिक दलहरूले जनतामुखी एजेन्डा अघि सार्नुपर्ने उनको भनाइ थियो।
गणेशमान सिंहजस्ता नेताहरूको ऐतिहासिक स्मृतिमाथि आक्रमण हुनु केवल संरचनागत क्षति मात्र होइन, नेपालले कठिन संघर्षका बीच पाएको लोकतान्त्रिक मूल्य र इतिहासप्रतिको अवज्ञा पनि हो। यसले आन्दोलनमा संलग्न पक्षहरूको वास्तविक उद्देश्य र दीर्घकालीन प्रभावबारे शंका जन्माएको छ। लोकतान्त्रिक आन्दोलनहरू हिँसामार्फत होइन, संस्थागत सुधार र जनताको विश्वासमार्फत सफल हुन्छन् भन्ने सन्देश विगतको इतिहासले दिएका बेला, जेनजी आन्दोलन उल्टो दिशामा लागेको आलोचना बढ्दै गएको छ।




