देश

प्रहरीको घेरा तोडेर संसदभवनभित्र जेनजी प्रदर्शनकारी

काठमाडौं । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सुरु गरेको प्रदर्शन आज नयाँबानेश्वरस्थित संसद भवनसम्म पुगेपछि प्रहरीसँग झडप भएको छ।

माइतीघरबाट सुरु भएको जुलुस ब्यारिकेड तोड्दै अघि बढ्दा प्रहरीको अवरोध पार गरेर केही युवाहरू संसद भवनको मुख्य गेटसम्म पुगेका थिए। तिनकुनेतर्फबाट आएको अर्को समूह पनि गेट अगाडि पुगेपछि स्थिति तनावग्रस्त बनेको हो।

प्रहरीले भिड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले नाराबाजी गर्दै संसद भवनभित्र प्रवेश गर्ने प्रयास गरेका छन्। केही युवाहरू गेट चढेर परिसरभित्र पसेको दृश्य देखिएको छ।

यसअघि, जिल्ला सुरक्षा समितिको बैठकले सम्भावित चुनौतीलाई ध्यानमा राख्दै संसद भवन क्षेत्रलाई ‘हाई अलर्ट’ बनाउने निर्णय गरेको थियो। काठमाडौँ प्रहरी प्रमुख एसपी अपिल बोहरा, सशस्त्र प्रहरीका एसपी जीवन केसीसहित ६ जना डीएसपीहरू परिचालन गरिएको थियो।

आन्दोलन शान्तिपूर्ण हुने आयोजकहरूले बताएका भए पनि भिड बढ्दै जाँदा संसद भवन परिसरमा वातावरण तनावपूर्ण बनेको छ।

यसैबीच, माइतीघरमा विद्यार्थी र युवाहरूले “मलाई बोल्न दे सरकार”, “भ्रष्टाचार अन्त्य गर” जस्ता नारासहित विरोध जारी राखेका छन्। राजधानीसँगै बुटवलसहित अन्य शहरमा पनि युवाहरूले प्लेकार्डसहित प्रदर्शन गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *