देश

 सत्यनिरुपण तथा मेलमिलाप आयोगमा १५ हजार नयाँ उजुरी

काठमाडौँ। सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनासम्बन्धी थप १५ हजारभन्दा बढी नयाँ उजुरी प्राप्त भएको जनाएको छ।

आयोगले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जबरजस्ती करणी र अन्य गम्भीर यौनजन्य हिंसासम्बन्धी उजुरी माग गर्दा कुल १५,१९१ नयाँ उजुरी दर्ता भएको जानकारी दिएको हो। आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि ३ महिने सार्वजनिक सूचना जारी गरी उजुरी आह्वान गरेको थियो।

सो अवधिमा आयोगमा ५,४७१ उजुरी, जिल्लाबाट ५,८०८ उजुरी र जबरजस्ती करणी वा यौनजन्य हिंसासम्बन्धी ३,९१२ उजुरी प्राप्त भएको आयोगका सदस्य एवं प्रवक्ता अच्युत प्रसाद भण्डारीले जानकारी दिए। यसअघि यौनजन्य हिंसासम्बन्धी उजुरी ३१४ मात्रै दर्ता भएको थियो।

जिल्लागत उजुरीमा सबैभन्दा बढी जाजरकोटबाट ८८३ उजुरी दर्ता भएको छ। नयाँ र पुराना उजुरी मिलाएर हालसम्म आयोगमा कुल उजुरी संख्या ७८,९०९ पुगेको छ।

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष महेश थापाले पीडितहरूको गोपनीयता कायम राख्दै उजुरीको छानबिन अघि बढाउने बताए। उनले पहिलो दुई वर्षभित्र सबै मुद्दाको सत्य छानबिन गर्ने र आवश्यक प्रक्रिया अघि बढाउने उल्लेख गरे। आवश्यक स्रोत साधन उपलब्ध भए चार वर्षभित्र सबै काम टुङ्गो लगाइने पनि उनले बताए।

आयोगले २०५२ फागुन २ देखि २०६३ मङ्सिर ५ सम्मका घटनासम्बन्धी उजुरी मात्र स्वीकार्ने व्यवस्था गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *