काठमाडौं । सामान्य व्यापारीलाई सस्तोमा सामान दिन धम्काउने, तर आफ्नै धन्दा मिटरब्याजमा चलाउने ७७ वर्षीय विनोदकुमार श्रेष्ठ अन्ततः प्रहरीको फन्दामा परेका छन्। गोरखा बजार स्थायी घर भएका श्रेष्ठलाई प्रहरीले काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित घरमै छापा मार्दा ४ करोड २५ लाख नगद, ९ किलोभन्दा बढी सुन र तीन किलोभन्दा बढी चाँदीसहित पक्राउ गरेको हो।
श्रेष्ठ ‘सामान्य मानिस’ को छवि देखाउँदै तरकारी बजारमा ५० रुपियाँको साग किन्दा पनि बार्गेनिङ गर्ने गर्थे। तर, अर्कोतर्फ उनले साना व्यापारीदेखि खुद्रा पसलेसम्मलाई उच्च ब्याजदरमा पैसा लगानी गरी ठूलो कमिसन असुल्ने गरेको स्रोतको आरोप छ।
प्रहरी उपत्यका कार्यालय रानिपोखरीका एसएसपी शेखर खनालका अनुसार प्रारम्भिक अनुसन्धानमै श्रेष्ठले सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गर्ने गरेको पुष्टि भएको छ। “उनी मिटरब्याजी धन्दामा सक्रिय रहेर करोडौं कमाएको देखिन्छ,” खनालले बताए। बरामद नगद बैंकको मेसिनमार्फत गणना गर्दा ४ करोड २५ लाख रुपैयाँ पुगेको छ। साथै ९ किलो ८३७ ग्राम सुन र ३ किलो २१८ ग्राम चाँदी पनि भेटिएको प्रहरीले जनाएको छ।
यस्तो ठूलो मात्रामा नगद र सुन घरमै लुकाएर राख्नु सामान्य वित्तीय व्यवहार होइन। कानुनभन्दा बाहिर चल्ने मिटरब्याजी धन्दाले पीडित व्यापारीलाई कर्जा तिर्न नसक्ने अवस्थामा पु¥याउने र अन्ततः सम्पत्ति गुमाउने अवस्थासमेत सिर्जना गर्ने देखिन्छ। तर यस्ता व्यक्तिहरू सामान्य जीवनशैली देखाएर समाजमै घुलमिल हुने गरेका उदाहरण यसले फेरि उजागर गरेको छ।
प्रहरीले श्रेष्ठलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याएको छ। तर प्रश्न यहीँ छ – यस्ता मिटरब्याजीलाई दण्डित गर्ने कडा कानुनी व्यवस्था नभएसम्म पीडितहरू न्याय पाउने कुरा अझै टाढा रहनेछ।
नेपालमा मिटरब्याजी प्रथा कुनै नयाँ समस्या होइन। उच्च ब्याजदरको ऋणले हजारौं किसान, मजदुर र साना व्यापारीहरूलाई घरजग्गा गुमाउने अवस्थासम्म पुर्याएको छ। ऋणको बोझले गाउँघरमा आत्महत्या गर्नेसम्मका घटना सार्वजनिक भएका छन्। किसानले उत्पादन गरेको वस्तुको मूल्य पाउनुअघि नै ब्याज तिर्नुपर्ने बाध्यता बढ्दै गएको छ। साना व्यापारीहरू बजारमै टिक्न नसक्ने गरी दबाबमा पर्ने गरेका छन्।
विनोदकुमार श्रेष्ठजस्ता व्यक्तिहरू सामान्य देखिए पनि उनीहरूले लुकाइराखेको सम्पत्ति अवैध लेनदेनको प्रमाण हो। यस्ता धन्दाले वित्तीय प्रणालीमै अविश्वास पैदा गर्छ। नेपालमा मिटरब्याज नियन्त्रणका लागि कानुन भए पनि कार्यान्वयन लगभग शून्य छ। पीडितहरूले प्रहरीसमक्ष उजुरी गर्दा प्रमाण सङ्कलन प्रक्रिया जटिल हुन्छ। कानुनी प्रक्रियामा ढिलाइ हुने भएकाले मिटरब्याजी सजिलै जोगिन सक्छन्। राजनीतिक पहुँच भएकाहरू त झन् सजिलै उम्किने गरेको आरोप छ।
यसअघि पनि विभिन्न स्थानमा मिटरब्याजीविरुद्ध आन्दोलन भएका थिए तर सरकारले पीडितलाई न्याय दिने ठोस व्यवस्था गर्न सकेको छैन। गोंगबुबाट बरामद भएको करोडौं नगद र सुन कुनै व्यक्तिको सामान्य आम्दानी होइन। यस्तो सम्पत्ति दशौं पीडितको पसिनाबाट चुसिएको छ भन्ने अनुमान सहजै गर्न सकिन्छ। तर यस्ता घटना बेलाबेलामा मात्र सार्वजनिक हुन्छन्।
विनोदकुमार श्रेष्ठको पक्राउले नेपालमा फैलिएको मिटरब्याजी प्रथाको एउटा झल्को मात्र दिएको हो। समस्या जरा गाडेर बसेको छ, तर कानुन कमजोर छ। जबसम्म सरकारले कडाइका साथ कानुनी कारबाही गर्ने हिम्मत गर्दैन, तबसम्म हजारौं किसान, मजदुर र साना व्यापारीहरू यसैगरी पीडित भइरहनेछन्। गैरकानुनी धन्दामा सक्रिय रहेका श्रेष्ठको काठमाडौंँँमा मात्र हालिसान घर छैनन्, गोरखामा समेत बंगाला जत्रै घर भएको स्रोतको दाबी छ । प्रहरी अनुसन्धानबाट थप यसको रहस्य खुल्ने प्रहरीको भनाइ छ । गोरखाको आफ्नो घरमा एनसेलले भाडामा टावर राखेको त्यसको पनि केही आम्दानी हुने श्रेष्ठले प्रहरीलाई बताएका छन् ।गोरखाको आफ्नो घरमा एनसेलले भाडामा टावर राखेको त्यसको पनि केही आम्दानी हुने श्रेष्ठले प्रहरीलाई बताएका छन् ।
प्रहरीले अपरेसन गर्नु अघि उनी सिसाको कपमा ब्ल्याक टी पिउँदै गरेको प्रहरीको भनाइ छ । एक्कासी प्रहरी उनको घरमा प्रवेश गर्दा उनको सातो उड्यो । उनले चामलका बोरादेखि सेफ, दराजमा पैसाका बिटा राखेका थिए । प्रहरीले रकम बरामद गरेको गोंगबुस्थित तीनतले घरमा श्रेष्ठ एक्लै बस्थे । श्रीमती भने गोरखा गएकी थिइन् । श्रेष्ठले प्रहरीलाई तीन छोरा भएको बताएका छन् । एक छोराको कार सोरुम, अर्का छोराको कारकै रिकन्डिसन हाउस थियो । सोही कारोबारको रकमसमेत आफैंले राख्ने गरेको श्रेष्ठको दाबी छ। उनले प्रहरीसमक्ष पुर्ख्यौली सम्पत्ति, छोराहरूको कम्पनीको कमाइ, एनसेल टावर भाडाबाट आउने गरेको बताउन थालेका छन् ।




