कोशी प्रदेश

मन्त्री राईको असहमति कारण कोशीमा सचिव ‘अलपत्र’

काठमाडौं । कोशी प्रदेशमा सरुवा भएर पुगेका सचिव मिलन आचार्य २० दिनसम्म पनि मन्त्रालय प्रवेश गर्न नपाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै थन्किएका छन्।

मन्त्रिपरिषद्ले आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा खटाउने निर्णय गरे पनि मन्त्रालयका जिम्मेवार मन्त्री भूपेन्द्र राईको आपत्तिका कारण प्रक्रिया अघि बढ्न नसकेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार पटक–पटक मन्त्रिपरिषद बैठक बसे पनि राईको असहमति हट्न नसक्दा सचिवलाई मन्त्रालय पठाउने निर्णय अल्झिएको हो। अहिले मन्त्रालयमा उपसचिव रमेश श्रेष्ठले निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका छन्।

यसअघि संघ सरकारले सिधै मन्त्रालय तोकेर सचिव सरुवा गर्दै आएकोमा, ओली नेतृत्वको सरकारले प्रदेशमा सरुवा गरेर मुख्यमन्त्री कार्यालयमार्फत मन्त्रालयमा खटाउने व्यवस्था लागू गरेको हो।

भौतिक पूर्वाधारसँगै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री राई भने आफूले सचिवको पोष्टिङ रोकेको आरोप असत्य भएको बताउँछन्। “अब सरुवा मुख्यमन्त्री कार्यालयमार्फत हुन्छ, कोही न कोही त आउँछ,” उनले प्रतिक्रिया दिए।

सचिव आचार्य यसअघि इलामको पूर्वाधार विकास कार्यालयमा प्रमुख थिए र हाल सहसचिवको पदमा कोशी प्रदेशमा सरुवा भएका हुन्। तर मन्त्री राईको असहमति नहटेसम्म उनी जिम्मेवारीविहीन रहनुपर्ने अवस्था बनेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *