देश

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र बनेको छ। निकुञ्जमा हालसम्म ४६५ प्रजातिका चरा भेटिएका छन्, जसमा १९ प्रजाति विश्वमै दुर्लभ मानिन्छन्।

नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरुलाल डगौराका अनुसार तीमध्ये खरमजुर सबैभन्दा सङ्कटापन्न अवस्थामा रहेको छ। यस चराको सङ्ख्या निकुञ्जमा निकै कम रहेको र यसको पहिचान घाँसेमैदानसँग जोडिएको बताइन्छ। त्यस्तै, सुनौलो तोप चरा भने शुक्लाफाँटामै मात्र पाइन्छ।

निकुञ्जमा गिद्धका आठ प्रजाति पाइनेमा चार (डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र सेतो गिद्ध) अति सङ्कटापन्न अवस्थामा छन्। यी प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को रातो सूचीमा समेत सूचीकृत छन्।

पछिल्लो सर्वेक्षणअनुसार निकुञ्ज र आसपासका सिमसार क्षेत्रमा करिब पाँच हजार ८८२ जलपन्छी भेटिएका थिए। हिउँदयाममा यहाँका तालतलाउमा दुर्लभ जलपन्छी टाउके हाँसजस्ता प्रजाति देखिने गरेका छन्।

संरक्षण अधिकृत पुरुषोत्तम बाग्लाका अनुसार चराको प्राकृतिक बासस्थान डढेलो, अतिक्रमण, खेतीपाती र सामुदायिक वनमा हुने वृक्षरोपणले सङ्कुचित बनाइरहेका छन्। चोरी–सिकारी नियन्त्रणका लागि निकुञ्जमा १४ र नेपाली सेनाका १९ पोष्ट स्थापना गरिएको छ।

शुक्लाफाँटा पाटेबाघ, एकसिङ्गे गैँडा, जङ्गली हात्ती, बाह्रसिङ्गा, नीलगाई, घडियाल गोहीलगायत दुर्लभ वन्यजन्तुको पनि बासस्थान हो। जैविक विविधता र चराको समृद्धिले यसलाई अनुसन्धानकर्ता र पर्यटकको आकर्षण केन्द्र बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *