देश

लिपुलेक विवादमा भारतले पुनः अस्वीकार गर्‍यो नेपालको दाबी

काठमाडौं । भारतले लिपुलेक क्षेत्रमाथिको नेपालको सार्वभौम दाबीलाई पुनः अस्वीकार गरेको छ । चीनसँग लिपुलेक हुँदै व्यापार नाका पुनः सञ्चालन गर्ने भारत–चीन सहमतिको नेपालले विरोध जनाएपछि भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो अडान स्पष्ट गरेको हो ।

मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको विज्ञप्तिमा नेपालको दाबी ऐतिहासिक तथ्यमा आधारित नभएको भन्दै ‘कृत्रिम रूपमा भूभाग विस्तार गरेर गरिएको दाबी स्वीकार्य नहुने’ उल्लेख छ । विज्ञप्तिमा लिपुलेक हुँदै भारत–चीनबीच १९५४ देखि व्यापार हुँदै आएको बताइएको छ ।

यसअघि बुधबारै नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो अभिन्न भूभाग रहेको पुनः स्पष्ट गर्दै भारतलाई त्यहाँ गतिविधि नगर्न आग्रह गरेको थियो । परराष्ट्र मन्त्रालयले यसबारे चीनलाई पनि जानकारी गराएको जनाएको छ ।

लिपुलेक विवाद हालै चिनियाँ विदेशमन्त्री वाङ यीको नयाँ दिल्ली भ्रमणका क्रममा भारत–चीनबीच भएको सहमति पश्चात् पुनः चर्किएको हो । यसअघि २०१५ मा पनि यस्तै सहमति हुँदा नेपालले कूटनीतिक विरोध जनाएको थियो ।

पछिल्लो घटनाक्रमले नेपाल–भारत सम्बन्ध फेरि तनावपूर्ण बन्दै गएको कूटनीतिक वृत्तको भनाइ छ । भारतले सीमा विवाद वार्ताबाट समाधान गर्ने अडान दोहोर्‍याए पनि आफ्नो दाबीमा अडिग देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *