काठमाडौं । भिजिट भिषा प्रकरणमा उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने प्रक्रिया अघि बढाउन नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल सक्रिय बनेका छन् । मंगलबार बिहानदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आफ्ना सांसदलाई बोलाएर दुवै दलले हस्ताक्षर संकलन सुरु गरेका छन् ।
कांग्रेसको पदाधिकारी बैठक बुढानीलकण्ठमा बसिरहेका बेला सांसदहरूलाई क्रमशः सिंहदरबार बोलाइएको छ । त्यस्तै एमालेले पनि दिउँसो २ बजेसम्म हस्ताक्षर अभियानमा सहभागी हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
स्रोतका अनुसार सोमबार साँझ बालुवाटारमा कांग्रेस–एमाले नेताहरू र महान्यायाधिवक्ता रमेश बडालबीच भएको बैठकमा उपसभामुखमाथि महाअभियोग प्रस्ताव अघि बढाउने विषयमा छलफल भएको थियो । त्यही सहमति अनुसार मंगलबारदेखि हस्ताक्षर प्रक्रिया अघि बढाइएको बुझिएको छ ।
उपसभामुख रानामगरमाथि अमेरिकी राजदूतावासमा आफ्नै लेटरप्याड प्रयोग गरी भिसा सिफारिस पत्र पठाएको आरोप छ । यसअघि पनि महाअभियोग प्रस्ताव ल्याउने तयारी भएपनि आन्तरिक विवादका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । राजनीतिक विश्लेषकहरूले कांग्रेस–एमालेबीचको यस्तो सहकार्यलाई सत्ता समीकरणसँग समेत जोडेर हेरिरहेका छन् । प्रतिनिधिसभामा दुवै दलको ठूलो संख्यामा सांसद भएको कारण प्रस्ताव अघि बढेमा उपसभामुख पद गुम्ने सम्भावना प्रबल देखिएको छ । रास्वपाले भिजिट भिषा प्रकरणमा संसदमा बढि चटक देखाउन थालेपछि सत्तारुढ दलको मनौविज्ञानमा असर परेको छ । रास्वपाले अभियोग लागेका आफ्ना माननीयहरुलाई सुनपानी लगाउने र अरु दलका माननीयमाथि हिलो छेप्ने काम जारी राखेपछि सो प्रकरणमा अब छिनोफानो हुन लागेको स्रोतको भनाइ छ ।




