काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुभन्दा अघि प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले आकस्मिक रूपमा बैठकमा जुटेका छन् ।
कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ । बैठकपछि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि सांसदहरूलाई सिंहदरबार बोलाइएको कांग्रेस सांसदहरूले बताएका छन् । सिंहदरबार पुगेका सांसदहरूसँग हस्ताक्षरसमेत गराइएको स्रोतको दाबी छ ।
यस्तै, एमालेले पनि आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बिहान लागि बैठक तय गरिएको एमाले सांसद सूर्य थापाले जानकारी दिए । तर बैठकको एजेन्डाबारे औपचारिक रूपमा खुलाइएको छैन ।
भोलि बुधबार बस्ने प्रतिनिधिसभा बैठकअघि दुई ठूला दलको यस्तो आकस्मिक गतिविधिलाई राजनीतिक रूपमा महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।




