काठमाडौँ। राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले दिनेछन्।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए।
यस्तै, आज अर्थसमिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्नेछ। अर्थसमितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ भने कानुन समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल हुने कार्यसूची छ।




