राजनीति

आगामी २०८४ मा एकल बहुमतसहितको कांग्रेसको स्थिर सरकार बनाउन सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी आमनिर्वाचनलाई लक्षित गर्दै पार्टीपंक्तिलाई एकल बहुमत ल्याई कांग्रेसको नेतृत्वमा स्थिर सरकार बनाउन एकजुट भएर अघि बढ्न निर्देशन दिएका छन् ।

पार्टी शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रममा बोल्दै देउवाले पुराना पार्टीहरू असफल भएको भन्ने अतिरञ्जित प्रचारमार्फत समाजलाई दिग्भ्रमित पार्ने प्रयास भइरहेको आरोप लगाए । उनले भने, “यस्ता भ्रमलाई तोड्न हामी सक्रिय र शक्तिशाली बन्नुपर्छ । शुभेच्छुक संस्थाहरूलाई गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गर्नुपर्छ ।”

देउवाले कांग्रेस अझै मुलुकको सबैभन्दा ठूलो पार्टी भएको दाबी गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए । यसै अवसरमा प्रवक्ता प्रकाशशरण महतले सिद्धान्त, नीति र समर्पणको हिसाबले अहिले पनि कांग्रेसलाई चुनौती दिनसक्ने अर्को पार्टी नरहेको जिकिर गरे । उनले “मिसन ०८४” सफल पार्न कार्यकर्ता आ–आफ्नो ठाउँबाट खटिनुपर्नेमा जोड दिए ।

महतले कांग्रेस संगठनमा देखिएको कमजोरी सुधार्नुपर्ने बताउँदै भने, “सामाजिक सञ्जालमा झूटा प्रचार हुँदैछ । सत्य कुरा उल्टै आलोचित भइरहेको छ । अब नेताकार्यकर्ताले जनतामाझ र सामाजिक सञ्जालमा सत्य तथ्य बोल्न नहिच्किचाउनुपर्छ ।” देउवाले हाल एमालेसँग मिलेर सरकार बनाउनुपरेको अवस्था बाध्यतावश भएको स्पष्ट पारे । उनले असन्तुष्ट नेताहरूलाई सन्देश दिँदै भने, “एक्लै सरकार बनाउने परिस्थिति नभएकाले सम्झौता गरेर अघि बढ्नुपरेको हो । नेतृत्वले आवश्यकताअनुसार अडान लिनुपर्छ र लिइरहेको छ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *