देश

राष्ट्रपति पौडेलको आह्वान : “जलवायु संकट पार गर्न क्षेत्रीय एकता अपरिहार्य”

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले उत्पन्न गरेको गम्भीर संकटलाई पार गर्न क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा सोमबार राजधानीमा आयोजित “हिन्दुकुश–हिमालय पार्लियामेन्टेरियन्स मिट २०२५” लाई सम्बोधन गर्दै उनले हिमालय क्षेत्रका जलस्रोत, वन र कृषि योग्य भूमिले दुई अर्बभन्दा बढी मानिसको जीवनयापनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धानेको भए पनि अहिले यो आधार नै संकटमा परेको चेतावनी दिए ।

राष्ट्रपति पौडेलले हिमालदेखि समुद्रसम्मका बासिन्दाको भविष्य एउटै नियतिमा गाँसिएको स्मरण गर्दै दिगो भविष्यका लागि यो भेटघाट ऐतिहासिक अवसर भएको बताए । उनले जलवायु, जैविक विविधता र वायु प्रदूषणसम्बन्धी नीतिहरू वैज्ञानिक तथ्य र जनआवाजलाई आधार बनाएर समयसापेक्ष र कार्यान्वयन योग्य बनाउनुपर्नेमा जोड दिए ।

उनका अनुसार, संसद्ले नीति निर्माण मात्र नभई कार्यक्रमको कार्यान्वयन, स्रोत पारदर्शिता र परिणामको मूल्याङ्कनमा पनि जबाफदेहितापूर्वक भूमिका निर्वाह गर्नुपर्छ ।

“दैनिक जीवनमा देखिएको जलवायु संकट”

राष्ट्रपतिले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण अब वैज्ञानिक प्रतिवेदनमा मात्र सीमित नभई दैनिक जीवनको कठोर यथार्थ बनेको उल्लेख गरे । उनले यो बैठकलाई साझा र दिगो भविष्यको रोडम्याप तय गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए ।

“हाम्रो क्षेत्र जैविक विविधताका दृष्टिले धनी छ, तर यसको क्षतिले खाद्य सुरक्षा, सांस्कृतिक सम्पदा, प्रजातिहरू र अर्थतन्त्रमा गहिरो असर पारेको छ,” उनले भने ।

उल्लेखनीय उपलब्धिको प्रशंसा

राष्ट्रपति पौडेलले सदस्य राष्ट्रहरूले जैविक विविधता संरक्षण, वायु प्रदूषण नियन्त्रण र दिगो विकासतर्फ गरेका प्रयासको प्रशंसा पनि गरे । उनले राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र विस्तार, वन्यजन्तु निगरानी प्रणालीको आधुनिकीकरण, विद्युतीय सवारी प्रवर्द्धन, सार्वजनिक यातायात सुधार र उद्योग उत्सर्जन नियन्त्रणलाई उल्लेखनीय कदमका रूपमा व्याख्या गरे ।

पेरिस सम्झौताप्रतिको प्रतिवद्धता

राष्ट्रपतिले पेरिस सम्झौताअनुसार विश्व तापमान वृद्धि १।५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न सबै पक्षले योगदान दिनुपर्नेमा जोड दिए । उनले पछिल्ला दशकमा हिमनदी पग्लिने गति बढेको र त्यसको असरले तटीय क्षेत्रदेखि टाढासम्म बाढी, पहिरो जस्ता विपद् निम्त्याइरहेको बताए ।

तत्काल कदम चाल्नुपर्ने आवश्यकता

राष्ट्रपति पौडेलले विगतमा जलवायु र प्राकृतिक स्रोतबारे बहस दीर्घकालीन लक्ष्यका रूपमा हुने गरेको तर आज ती चुनौतीहरूले तत्काल कदम चाल्न दबाब दिइरहेको स्थिति आएको उल्लेख गरे । “हामी सबै संकटापन्न अवस्थामा छौं, यसलाई पार गर्न सबैले मिलेर साझा प्रयास गर्नुपर्छ,” उनले भने ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *