देश

महासचिव पोखरेलको ठोकुवा : कांग्रेस–एमाले गठबन्धन निर्वाचनसम्म, अस्थिरताको हल्ला निरर्थक

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस र एमालेबीच बनेको गठबन्धन स्थिर र दीर्घकालीन हुने बतएका छन्
। उनले आगामी निर्वाचनसम्म गठबन्धन यथावत् रहने ठोकुवा गर्दै सरकार ढल्छ भन्ने हल्ला फैलाउनेलाई अस्थिरताका रोगी भनेर टिप्पणी गरेका छन् ।

सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले दुई ठूला दलबीच सहमति भएकाले सरकार स्थिर भएको उल्लेख गरे । “तर अस्थिरताको रोग लागेकाहरू दिनहुँ आज ढल्छ, भोलि ढल्छ भन्छन् । उनीहरूकै मनमा समस्या हो,” उनले भने ।

कांग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै पोखरेलले एकातिर सत्तामा हिस्सेदारी खोज्ने र अर्कोतिर सरकारको विरोध गर्नु अनैतिक भएको टिप्पणी गरे । “सरकारमा सहभागी भएपछि जस–अपजस दुवैको भागिदार बन्नुपर्छ । हिस्सा खोज्ने अनि विरोध गर्ने नैतिकता होइन,” उनले थपे ।

पोखरेलले सञ्चार स्वतन्त्रता कुण्ठित हुने खालको कुनै कानुन नबन्ने स्पष्ट पार्दै मिडिया काउन्सिल विधेयक सञ्चार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन ल्याउन लागिएको बताए । “संविधानसँग बाझिने कुनै कानुन संसद्ले पारित गर्दैन,” उनले विश्वास दिलाए ।

त्यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गर्दै उनले राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले फेरि सक्रिय राजनीतिमा फर्कनु लोकतान्त्रिक मूल्य–मान्यतासँग मेल नखाने धारणा राखे । “पूर्वराष्ट्रपतिलाई सम्मानित भूमिकामा रहनुपर्छ भन्ने हाम्रो अडान हो,” पोखरेलले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *