काठमाडौं । नेकपा एमालेले आफ्नो विधान महाधिवेशनमा सहभागी हुने केही शीर्ष नेताहरुलाई मतदान अधिकार नदिने निर्णय गरेको छ । यसअघि नै गरिएको व्यवस्थाअनुसार महाधिवेशनको मतदान प्रक्रियामा केवल दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूमात्र सहभागी हुने भएकाले पार्टी प्रवेश गरेका वा मनोनीत केन्द्रीय सदस्यहरू वञ्चित भएका हुन् ।
स्थायी समिति सदस्य काशीनाथ अधिकारीका अनुसार महाधिवेशन हलमा २३९२ जना सहभागी हुनेछन्, जसमा २१२८ प्रतिनिधिले मात्र मत दिन पाउनेछन् । बाँकी आयोजक र विशेष आमन्त्रितलाई सहभागी हुने अनुमति भए पनि मतदान अधिकार भने नहुनेछ ।
मतदान अधिकारबाट वञ्चित हुने नेतामध्ये पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, स्थायी समिति सदस्य मुकुन्द न्यौपाने, जसपाबाट एमाले प्रवेश गरेका प्रेमबहादुर सिंह, राष्ट्रिय सभाका पूर्वसदस्य जितेन्द्रनारायण देव, माओवादी पृष्ठभूमिका ठम्मरबहादुर विष्ट र जीवन गौतम, साथै आजपाबाट आएका कुन्दन कुसवाह र सुभाष कर्माचार्यसहित करिब २६४ जना रहेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई त एमालेले सदस्यता नै नवीकरण नगरेर पार्टीभित्र फर्किने बाटो बन्द गरिदिएको थियो । त्यस्तै, एमाले प्रवेशका लागि विधान संशोधन गरेर उमेर सीमा हटाइएका स्थायी समिति सदस्य मुकुन्द न्यौपाने पनि मतदान प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
हालैका वर्षमा विभिन्न दल परित्याग गरी एमाले प्रवेश गरेका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनीत गरिएको भए पनि मतदान अधिकार दिन नमिल्ने पार्टीको अडान छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, “नयाँ प्रवेशी र मनोनीत सदस्यले बहसमा सहभागी हुन पाउनेछन् तर मतदान अधिकार भने केवल प्रतिनिधिहरूलाई मात्रै हुनेछन् ।”
यसरी, एमालेले विधान महाधिवेशनलाई आन्तरिक संरचना र अनुशासनमा आधारित बनाउन चाहेको देखिए पनि मतदान अधिकारबाट वञ्चित नेताहरूलाई भने असन्तुष्टि हुने आकलन गरिएको छ ।




