राजनीति

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेकोले हर सम्भव पहलमा जुटिरहेको जानकारी दिएका हुन् । “सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ । विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ,” प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले विपिनका परिवारको साथमा नेपाल सरकार रहेको समेत बताएका छन् । “इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटेर विपिनको रिहाइको लागि पहल गर्न आग्रह गरेका छन् ,” प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् , “यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ, ।” प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवादसमेत दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *