काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–७ स्थित स्पेसलचोकमा आइतबार राति भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार राति करिब १ः४५ बजे बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
घटनामा सिरहा जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। उनीहरूलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइए पनि चिकित्सकले राति २ः१५ बजे मृत घोषणा गरेका थिए। मृतकमध्ये एकजनाको सनाखत हुन बाँकी रहेको र आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गोरखा आरुपोखरी घर भई बुढानीलकण्ठ–८ भंगाल बस्ने २४ वर्षीय एरिक परियार, साथै नाम थर नखुलेका करिब २८–३० वर्षका एक पुरुष र करिब ३०–३२ वर्षका अर्का पुरुष घाइते भएका छन्। पहिचान नखुलेका दुई जनाको अवस्था गम्भीर छ भने सबै घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




