देश

सिस्नेरी सडक अवरुद्ध, ४८ घण्टादेखि आवागमन प्रभावित

काठमाडौं । काठमाडौँलाई छोटो दूरीमा जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा पहिरो खस्दा आवागमन ४८ घण्टादेखि प्रभावित भएको छ । शनिबार बिहान ९ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएपछि अस्थायी रूपमा डाइभर्सनमार्फत सवारी सञ्चालन गरिएको थियो । तर, आइतबार दिनभर तीनवटा मेसिन प्रयोग गरेर मुख्य सडक खोल्ने प्रयास गरिए पनि बेलुकी परेको वर्षाले थप पहिरो खसेपछि काम अवरुद्ध भएको हो ।

प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जेसिबी, एक्स्काभेटर र लोडर प्रयोग गरी बाटो खोल्ने प्रयास गरिरहेको छ । मन्त्रालयअन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना, हेटौँडाका प्रमुख देवनारायण यादवका अनुसार आइतबार साँझदेखि काम रोकिए पनि सोमबार बिहानदेखि पुनः सुरु गरिएको छ ।

उनका अनुसार, पहिरो ठूलो भएकाले र माथिबाट निरन्तर ढुङ्गा–माटो खसिरहेको कारण कठिनाइ भएको छ । “सडक साँघुरो र जोखिमयुक्त भएकाले थप मेसिन पठाउने अवस्था छैन,” यादवले बताए ।

आयोजनाले सोमबार साँझसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । हाल सडक खुलाउन एक–एकवटा एक्स्काभेटर, जेसिबी र लोडर प्रयोग भइरहेको छ ।उक्त सडकलाई प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत राजधानी मार्गको नामकरण गरेर निर्माण गरिरहेको हो । काठमाडौँतर्फको केही खण्डमा कालोपत्रे गर्ने काम अझै बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *