काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार दिनभर नेपालको शीर्ष नेतृत्वसँग व्यस्त भेटवार्ता गरे। बिहानै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा भेटेर उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणापत्र हस्तान्तरण गरे। त्यसपछि मिस्री राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगे।
भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल–भारतबीचको सम्बन्धलाई ‘सदैव उच्च प्राथमिकता’ मा रहेको बताएका थिए। उनले भारतको सामाजिक–आर्थिक प्रगतिबाट नेपाल लाभान्वित भएको र अझ बढी लाभ लिन चाहेको स्पष्ट पारे।
मिस्री त्यसपछि बुढानीलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र खुमलटार पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए । यी भेटघाटमा दुई देशबीचको आपसी हित, द्विपक्षीय सहयोग र सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने विषयमा छलफल भएको बताइएको छ।
यस्तै, मिस्रीले परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवा र परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। सचिव राईले उनको सम्मानमा रात्रिभोज समेत आयोजना गरेका थिए।
प्रधानमन्त्री ओली आगामी भदौ ३१ गते भारत भ्रमणमा जाने लगभग निश्चित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर, भ्रमण मिति भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। दुई मुलुकबीच राजनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझै मजबुत बनाउन मिस्रीको यो भ्रमणलाई कूटनीतिक दृष्टिले महत्वपुर्ण मानिएको छ।




