राजनीति

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा घोषणा (पूर्णपाठ)

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले २६ वर्षअघिका नेपाली कांग्रेस नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को ऐतिहासिक सम्बोधन सम्झिँदै मंगलबार प्रतिनिधिसभा बैठकमा राजीनामा दिएका छन्।

संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानको त्रुटिपछि उठेका प्रश्नका बीच उनले, “यो विधेयकमा मेरो कुनै स्वार्थ थिएन, स्वार्थ थियो त केवल संवैधानिक संयन्त्रलाई निष्पक्ष, दर्बिलो र कसैले प्रश्न उठाउन नसक्ने संस्थाको रूपमा स्थापित गर्न चाहेको थिएँ,” भन्दै नैतिक जिम्मेवारीस्वरूप पद त्यागको घोषणा गरे।

खतिवडाले किसुनजीको २०५६ चैत ३ गतेको अभिव्यक्ति — “देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिशप्त इतिहासबाट हामी नेपालीले कहिले गएर छुटकारा पाउने हो? के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटिल राजनीतिका खेलहरूको विसर्जन र पारदर्शिताको प्रदर्शन होइन?” — उद्धृत गर्दै आफू पनि त्यागका बाटोमा हिँड्ने निर्णय सुनाए।

उनका अनुसार, समितिमा सहमत भएर राखिएको ‘कुलिङ अफ पिरियड’ प्रावधान अन्तिम विधेयकमा कमजोर पारिएपछि नैतिक कारणले राजीनामा दिनु उचित ठानेका हुन्। उनले संघीय निजामती सेवा विधेयकमा देखिएको त्रुटिलाई सच्याउनुपर्ने आवश्यकता दोहोर्याउँदै, “भीम मल्ल, भीमसेन थापा, बलभद्र कुँवरजस्तै इतिहासको एउटा पात्र बन्न पुगेको छु,” भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *