काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै घिमिरेले भिजिट भिसाका नाममा सधैं संसदमा गाली गलौज गर्ने अभ्यास बन्द हुनुपर्ने बताएका हुन्।
‘रास्वपा र राप्रपाले ७० दिनदेखि संसद बहिष्कार गर्दै आएका छन्। यसले संसद, सरकार र जनताको ध्यानाकर्षण भएको छ। तर यो अभ्यास अझै बन्द भएको छैन,’ घिमिरेले भने, ‘संसदमा उभिएर सधैं गाली गलौज गर्ने, भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने, यो के भन्न खोजिएको हो? भिजिट भिसामा बाहिर नजाने को हुनुहुन्छ?’
उनले रास्वपा र राप्रपाले गोयबल्स शैलीमा झुटो प्रचार गरेर आम जनतालाई भ्रमित गरिरहेको आरोप समेत लगाए। ‘गोयबल्स शैलीमा झुटो कुरा प्रचार गरेर संसदलाई दुरुपयोग गर्ने अभ्यास चलिरहेको छ, अब यो बन्द हुनुपर्छ,’ घिमिरेले भने, ‘कांग्रेसलाई यसमा गम्भीर आपत्ति छ। यस्तो अभ्यास अन्त्य गरिएन भने संसदको गरिमा र महत्व दुवै रहँदैन।’
उनले यस्तो अभ्यास नरोके प्रतिवादमा उत्रिनु पर्ने चेतावनी पनि दिए। ‘लामो समयदेखि निरन्तर चलिरहेको यो अभ्यास भोलि प्रतिवादमा परिणत हुन सक्छ,’ उनले भने, ‘सांसदहरू प्रतिवादमा उभिन थाले भने संसदको दशा के हुन्छ?’




