बागमती प्रदेश

इन्द्र बानियाँ बागमती कांग्रेस संसदीय दलको नेतामा निर्वाचित, लामाको पक्ष कमजोर

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार सम्पन्न मतदानमा बानियाँले २२ मत प्राप्त गर्दै आफ्नो प्रतिस्पर्धी, मुख्यमन्त्री बहादुर सिंह लामामाथि स्पष्ट बहुमतसहित जित निकालेका हुन्। लामालाई १४ मतमा सीमित गरिएको छ भने १ मत बदर भएको छ।

कुल ३७ जना सांसद रहेको बागमती प्रदेशमा लामाविरुद्ध बानियाँले अविश्वास प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक तनावको अन्त्यका लागि दलको नेतृत्व परिवर्तन अपरिहार्य बनेको थियो।

अविश्वास प्रस्ताव पारित भइसकेपछि दलको नेताको हैसियत गुमाएका लामाले बुधबार तीनजना नयाँ मन्त्री नियुक्त गरे पनि उनीहरूको शपथ रोकिएको छ। एमालेको आपत्तिपछि आज बिहान ९ बजेका लागि तय शपथग्रहण कार्यक्रम स्थगित गरिएको हो। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले “संवेदनशील राजनीतिक अवस्थामा सरकार विस्तार नगर्न” आग्रह गरेका थिए।

नयाँ नियुक्त गरिएका मन्त्रीहरूमा गोविन्द लम्साल (आन्तरिक मामिला तथा कानुन), माया श्रेष्ठ ९युवा तथा खेलकुद०, र गीता गुरुङ (सहकारी तथा गरिबी निवारण) रहेका छन्।

इन्द्र बानियाँको जितसँगै कांग्रेस बागमतीमा नेतृत्व सन्तुलन र एकतापूर्ण दिशा तय हुने अपेक्षा गरिएको छ। बानियाँ पार्टी सभापति शेरबहादुर देउवाको निकट मानिए पनि लामो समयदेखि पार्टीभित्रको असन्तुलन सम्हाल्न उनी सक्रिय रहँदै आएका थिए।

अब नयाँ नेतृत्वले गठबन्धनभित्रको समन्वय, मन्त्रिपरिषद् पुनर्गठन र पार्टीभित्रको अनुशासन व्यवस्थापनमा कस्तो भूमिका खेल्छ भन्नेमा सबैको चासो केन्द्रित हुने देखिन्छ।

यसअघि २०७९ को पुस १३ मा भएको दल नेताको निर्वाचनमा भने लामाले इन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गरेका थिए ।अर्कोतर्फ मुख्यमन्त्री लामाले संसदीय दल नेताबाट हटेपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । यसले बागमती प्रदेशको सरकार थप विवाद र अन्योलतातर्फ उन्मुख भएको विश्लेषण गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *